फागुन, काठमाडौं । बलिउडका चर्चित निर्देशक विवेक शर्मा चलचित्रको छायांकन सेटबाटै फरार भएका छन् । उनी आफंैले निर्देशन गरिरहेको नेपाली चलचित्र ‘मेरो पैसा खै’ को सेटबाटै ४० लाख रुपैयाँ लिएर फरार भएका हुन् ।

चलचित्रका निर्माता रोज राणाका अनुसार दोलालघाटमा भइरहेको छायांकन सेटबाट शर्मा भागेका हुन् । ‘उसले काम गरेबापत ४० लाख क्यास दिएको थिएँ, खाएको बसेको गरेर ५० लाख खर्च भइसकेको छ, दिएको पैसा सबै लिएर भागे । छायांकन सेटमा विभिन्न किसिमका दुःख दिइरहेका थिए, अहिले क्यामेरा मेन भएर निकाल्नु प¥यो भन्ने, कहिले सेटमा काम गर्ने अन्य मानिस भएन भन्ने गर्दै दुख दिइरहेका थिए ।’, निर्माता रोजले भने ।

शर्माले १६ दिनसम्म छायांकन गरेको सबै फुटेज डिलिट गरेर फरार भएको बताएका छन् । ‘मैले भनेका कलाकार हटाएनौं भने म काम गर्दिन भनिरहेका थिए, मैले मानिरहेको थिएन,’ रोज भन्छन् । अहिले चलचित्रलाई रोजले नै निर्देशन गरिरहेका छन् । उनले ‘मेरो पैसा खै’ कै कलाकारका साथमा नयाँ स्क्रिप्टमा सुटिङ गराइरहेको बताए । राणाले सौगात मल्ल, वर्षा राउतलगायतका कलाकारलाई मुख्य भूमिकामा लिएका थिए ।

‘भुतनाथ’ चलचित्रका निर्देशक शर्माले कमेडी जनराको चलचित्र १८ भाषामा बनाएर गिनिज बुकमा नाम लेखाउने आश्वासन दिएका थिए । चलचित्रमा तीन करोड खर्च गर्ने राणाले तयारी गरेका थिए ।