वरिष्ठ बलरामको ‘न्यौली बनैमा’मा विजय र समृद्धिको नृत्य

...

काठमाडौँ । रंगमञ्चबाट आफ्नो अभिनयकला देखाउँदै बिभिन्न दर्जनौं फिल्मबाट निकै माया पाएका अभिनेता विजय बराल गीतमा खासै नृत्य गरेको देखिदैन । यसपटक भने उनी मज्जैले नृत्य गरेको भिडिओ सार्वजनिक भएको छ ।
चलचित्र ‘वरिष्ठ बलराम’को गीत ‘न्यौली बनैमा’मा विजय बरालको डान्सको पनि तारिफ भइरहेको छ । अभिनयमा गज्जवको तारिफ बटुल्ने उनले यसपटक नृत्यमा पनि वाहीवाही बटुलिरहेका छन् ।

प्रशान्त शिवाकोटीको शब्दरचना र संगीत रहेको गीतमा प्रशान्त र शान्तीश्री परियारको स्वर छ । गीतमा एकअर्कालाई मन पराउने युगल जोडीको भूमिकामा विजय र समृद्धि अर्याल छन् । गीतमा शंकाका बीचमा सँगै जीवन बिताउने सहमति गर्छन् । यही क्रममा रोमान्टिक देखिएका विजयको नृत्यको प्रशंसा भइरहेको छ ।

गीत र नृत्य दुवै राम्रो रहेको भन्दै सफलताको शुभकमना भनिरहेका छन् । धेरैले ‘रुकुम मैकोट’सँग तुलना गरेका छन् । सिनेमालाई शुभकामना भनिरहेका छन् । युट्युब लिंकका देबीसरा गुरुङ कमेन्ट गर्छिन्, “नायक विजय बराल र नयाँ नायिका दुवैैलाई सुहाएको छ । सफलताको शुभकामना वरिष्ठ बलरामलाई ।”

गीतको नृत्य मञ्जु गुरुङलाई पनि मन परेको छ । उनी लेख्छिन्, “धेरै राम्रो गीत अनि उत्तिकै दामी छ डान्स ।” उनले विजय र समृद्धिलाई शुभकामना भनेकी छन् । चिटिक्क परेर आकर्षक युवक बनेका विजय फूर्तीफार्तीसहित हिरोइनको वरिपरि घुम्छन्, नाच्छन्, रमाउँछन्, फकाउँछन् । यही दृश्य दर्शकले मन पराइरहेका छन् । कोरससमेत राखेर बनाइएको भिडियो भएकाले विजयमा आत्मविश्वास पनि देखिएको छ । त्यसकै तारिफ यतिबेला उनले बटुलिरहेका छन् ।

यतिबेला यो गीत र भिडियो टिकटकमा लोकप्रिय भइरहेको छ । विजयको तारिफ भइरहेको छ । विजयले अभिनयसँगै नृत्यमा पनि कुशलता प्रस्तुत गर्दा यसले समग्र सिनेमालाई नै फाइदा गरिरहेको छ । चलचित्रको पब्लिसिटीमा सहयोग गरिरहेको छ ।

कात्तिक ६ गते भाइटीकामा रिलिज हुने ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी ९पीके० लगायत कलाकारको अभिनय छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् ।

सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन चितवनका विभिन्न स्थानमा गरिएको हो ।  मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् । प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।