काठमाडौैँ । यतिबेला चाडपर्वको समय छ । दशैंमा नेपाली फिल्मले राम्रै दर्शकको कमाईरहेका छन् । तीनवटा फिल्म दशैंमा एकसाथ रिलिज भए । तीनैफिल्मले सन्तोषजनक दर्शक पाइरहेकाछन् । अब तिहारको समयमा पनि दर्शक हलसम्म पुगेर फिल्म हेर्ने समय हो । यो समयमा पनि नेपाली फिल्मको बाढी जस्तै छ । यहि भिडमा भाइटिकको दिनबाटै वरिष्ठ बलराम रिलिज हुने तयारीमा छ ।
‘वरिष्ठ बलराम’मा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा छन् । दयाहाङ र विजय प्रायः धेरै चलचित्रमा सँगै देखिन्छन् । हिट सिरिज ‘कबड्डी’देखि ‘जारी’सम्म यी दुई कलाकार सँगै हुन्छन् । यस्तै यी दुई अभिनेता सँगै रहेको सिनेमा हो, ‘वरिष्ठ बलराम’ । त्यसैले पनि यो फिल्म बिशेष होलाकि भन्ने अनुमान लगाइएको छ ।
यो चलचित्रका अहिलेसम्मका प्रचार सामग्रीमा दुवै कलाकार उत्तिकै स्पेसमा देखिएका छन् । पोस्टर, मोसन पोस्टर र टिजरमा दयाहाङ र विजयले बराबर स्पेस पाएका छन् । पोस्टर र टिजरमा यी दुई आपसी नोकझोकमा देखिएका छन् । एकले अर्कोलाई देखि नसहेको अवस्थामा चित्रण गरिएको छ ।
केही समयअगाडि ‘वरिष्ठ बलराम’को गीत सार्वजनिक भएको थियो । ‘न्यौली बनैमा’ बोलको गीतमा विजय र समृद्धि अर्यालको जोडी देखियो । यो गीतमा दयाहाङ देखिएनन् ।
यसले यो फिल्मको हिरो को हो भन्नेमा शंका पैदा गरिदिएको छ । लिगेसी हेर्दा यो सिनेमाको मुख्य भूमिकामा दयाहाङ हुने सम्भावना धेरै छ । तर, पछिल्लो समय विजय पनि मुख्य भूमिकामा बाक्लै देखिन थालेका छन् । ‘पूर्ण बहादुरको सारङ्गी’ हिट भएपछि विजयले लगातार मुख्य भूमिकामा काम गरिरहेका छन् ।
नाम सुन्दा बलराम मंगोल समुदायमा यो नाम ९बलराम० कमै हुन्छ । तर, हुँदै नहुने पनि होइन । बलराम नाम क्षेत्री ब्राह्मण समुदायमा धेरै राख्ने गरिएको छ । त्यसैले यो चलचित्रको मुख्य पात्र अथवा नायक को हो भन्नेमा कौतुहलता पैदा हुन थालेको छ ।
जे होस् अक्सर सिनेमामा दयाहाङको साथीको भूमिकामा देखिने विजय ‘वरिष्ठ बलराम’मा कस्तो भूमिकामा छन्, त्यो निर्माणपक्षले सस्पेन्स राखे पनि यी दुईबीचको संघर्ष र नोकझोक हुने कुरा भने लुकाएको छैन । त्यसैले यी दुईबीचको नोकझोक हेर्न रमाइलो हुने पक्का छ ।
कात्तिक ६ गते भाइटीकामा रिलिज हुने ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी ९पीके० लगायत कलाकारको अभिनय छ ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् । मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।
यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।







२२ आश्विन २०८२, बुधबार १२:०४ 








