काठमाडौँ । अभिनेत्री प्रियंका कार्की पछिल्ला दिनमा विभिन्न रियालिटी शो र टेलिभिजन कार्यक्रमहरूमा सक्रिय रूपमा देखिँदै आएकी छन्। यति व्यस्तताका बीच उनले एक कडा निर्णय सार्वजनिक गरेकी छन्— अबदेखि पैसा र भोटिङको प्रभावले चल्ने कुनै पनि शोमा सहभागी नहुने ।
यो प्रसङ्ग ‘स्टुडेन्ट अफ द इयर’ नामक नयाँ रियालिटी शोको मंगलबार आयोजित पत्रकार सम्मेलनसँग जोडिएको हो। कार्यक्रममा प्रियंका र कन्टेन्ट क्रिएटर इभा गिरीलाई जजको रूपमा प्रस्तुत गरिने तय थियो। तर प्रश्नोत्तर सत्रमै आयोजकले शोमा भोटिङ प्रणाली रहने बताएपछि वातावरण बद्लियो। आयोजकको भनाइ सुनेसँगै प्रियंकाले माइक लिएर आफू त्यस्तो स्वरूपको शोमा बन्न नसक्ने स्पष्ट पारिन्।
उनी त्यही ठाउँबाटै पत्रकार सम्मेलन छोडेर निस्किइन्। उनका अनुसार भोटिङ र पैसाको प्रभाव हावी हुँदा वास्तविक प्रतिभा ओझेल पर्न सक्छ, र यस्ता कुराले आफूलाई असहज बनाउने हुँदा उनले अझ यस्ता कार्यक्रमहरूमा नबस्ने निर्णय लिइन्। उनले पहिलेका केही शोका दोस्रो सिजनमा सहभागी नहुनुको कारण पनि यही रहेको खुलाइन्।
इभा गिरीले पनि भोटिङ प्रणालीबारे आफू अनभिज्ञ रहेको बताउँदै, पैसा र प्रभावले नतिजा बदल्ने कार्यक्रममा नभन्ने आफ्नो अडान सार्वजनिक गरिन्।
नेपाली मनोरञ्जन क्षेत्रमा कुनै कलाकारले पत्रकार सम्मेलनकै बीचमा पैसाको चलखेलका विरूद्ध यस्तो खुला प्रतिवाद गर्दै कार्यक्रम बहिष्कार गरेको घटना सम्भवतः पहिलोपटक मानिन्छ।
पत्रकार सम्मेलनमा उनि के भन्छिन् ?
आइएम सो सरी म शुभकामना दिन चाहन्छु । यदि शोमा भोटिङ छ भने म यो शो गर्न सक्दिन । मेरो मन मर्या छ के दुई तीनवटा शोमा । यस्तो ट्यालेन्टेड मान्छेहरू, जहाँ पुग्नुपर्ने पुगेन किनभने पैसा छैन ।
मैले दुईतीन चोटी त यस्तो फाइट गर्या छु । म नाम लिन सक्छु ती शोहरूको । म रोको छु कन्टेस्टेन्ट सँगसँगै । आज मैले नाम मात्र लिइन । यदि यो भिडियो भोली भाइरल भयो भने, भाइबहिनीले आफै लेख्नुहुन्छ कि कमेन्ट्मा कि मैले कति फाइट गरेको छु ।
यसले गर्दा धेरै शोहरू निरन्तर गरेको छु, सिजन २ हरू मैले छोडेँ सबै । एउटा शो मैले अहिलेसम्म गरिराखेको रोडिज हो, किनभने त्यहाँ पैसाको चलखेल छैन ।
यदि तपाईंहरूले पैसासँगै रियालिटी शो गर्न चाहनुहुन्छ भने तपाईंको हकको कुरा हो । मैले भर्खरै इभालाई पनि सोध्दै गर्दा उसलाई पनि थाहा रहेनछ । मैले अनिल शाहलाई पनि जस्ट टेक्स्ट, उहाँलाई पनि थाहा रहनेछ के । तपाईंहरूको शो हो, तपाईंहरूले आफ्नो तरिकाले गर्ने अधिकार तपाईंहरू सबैलाई छ ।
भोटिङ र पैसाले निर्णय गर्ने शोको हिस्सा अबदेखि बन्दिन । इमान्दारीपूर्वक भन्नुपर्दा, मैले पक्कै पनि अडान लिएकी हुँ ।







३ मंसिर २०८२, बुधबार १३:५६ 








