‘झरीपछिको इन्द्रेणी’लाई दर्शकको ‘माउथ–पब्लिसिटी’ राम्रो

...

काठमाडौँ । औपचारिक प्रचार–प्रसारभन्दा बढी दर्शकको स्वस्फूर्त प्रतिक्रियाले ठूलो चर्चा पाइरहेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ले रिलिज पछिका दिनहरूमा ‘वर्ड अफ माउथ’ प्रभावलाई अत्यन्तै प्रभावकारी रूपमा उपयोग गरिरहेको देखिन्छ। पौष ४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र हलमा सकारात्मक प्रतिक्रिया बटुलिरहेका बेला निर्माण पक्षले दर्शकको उत्साहलाई थप उच्च बनाउने उद्देश्यसहित नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक गरेको छ।

चलचित्रले सार्वजनिक गरेको नयाँ गीतमा हेमन्त रानाको स्वर र गणेश कार्कीका शब्द तथा मनोज थापा मगरको एरेञ्जमेन्ट छ। मुख्य कलाकार विमोचन दवाडीदेखि जेसिका पोखरेल र बाल कलाकार दिप्सन चिलवालसम्मको प्रस्तुती भएको यो गीतले कथावस्तुको भावनात्मक पक्षलाई उजागर गरेकाले दर्शक संलग्नता बढ्ने निर्माण पक्षको अपेक्षा छ।

निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ र कलाकारहरूको विभिन्न हल यात्राले पनि चलचित्र र दर्शकमाझ प्रत्यक्ष संवादको माध्यम बनेका छन्। हॉलमै उपस्थित सरकारी निकायका व्यक्तित्वदेखि महानगर प्रमुख बालेन शाह र मन्त्री बब्लु गुप्ता जस्ता चर्चित व्यक्तित्वले गरेको प्रशंसाले सिनेमालाई सामाजिक सन्देशयुक्त कृतिका रूपमा स्थापित गरिदिएको छ।

विशेषतः युवा पुस्ताले राजनीतिक अस्थिरता र अभिभावक–सन्तानबीचको संघर्षलाई सम्बोधन गर्ने सिनेमाको कथावस्तुसँग आत्मीयता महसुस गरिरहेको देखिन्छ। त्यस्तै अभिनेता गणेश उप्रेतीको कमब्याक र दीपाश्री निरौलाको परिवारसँग सम्बन्धित जेसिकाको डेब्युले विभिन्न पुस्ताका दर्शकलाई आकर्षणमा बाँधेको छ।

नागराज इन्टरटेनमेन्टको व्यानरमा बनेको यो चलचित्रमा बुद्ध थापाको छायांकन, गणेश कार्की–विशाल घिमिरेको पटकथा तथा अनिशा सेन्दाङ लिम्बूको निर्माण रहेको छ। राजनीतिक जनचेतना, मूल्य, परिवार र जिम्मेवारी जस्ता विषयमा आधारित सिनेमाले आफूलाई शुद्ध मनोरञ्जन मात्र नभई सामाजिक सन्देश बोकेको कृतिका रूपमा उभ्याउने प्रयास गरेको छ।

चलचित्रले प्रचारमा भन्दा दर्शक प्रतिक्रियालाई नै मुख्य ‘मार्केटिङ टुल’ बनाएको देखिँदै, विशेषज्ञहरू ‘झरीपछिको इन्द्रेणी’लाई हालका वर्षमध्ये सर्वाधिक प्रभावशाली दर्शक–केन्द्रित सिनेमाको सूचीमा राख्न सकिने अनुमान गरिरहेका छन्।