काठमाडौँ । प्रेमकथानक नेपाली फिल्म ‘कुमारी’ले प्रदर्शनअघि नै दर्शकसँग प्रत्यक्ष जोडिन देशव्यापी लाइभ म्युजिकल कन्सर्ट गर्ने भएको छ। फिल्मको प्रचार उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमलाई ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ नाम दिइएको छ।
निर्माण टिमका अनुसार संगीतप्रेमी दर्शकलाई फिल्मको भावनासँग नजिक गराउने लक्ष्यसहित कन्सर्ट आयोजना गरिएको हो। कन्सर्ट माघ १ गतेबाट सुरु भई माघ २३ गतेसम्म सञ्चालन हुनेछ। दाङ, पोखरा, काठमाडौँ, नेपालगन्ज, चितवन र धरानमा कन्सर्ट आयोजना गरिनेछ।
कन्सर्टमा फिल्मका प्लेब्याक गायक केहरसिं लिम्बु र उनको लोकप्रिय ब्यान्ड ‘केहर एन्ड द लुङा’ ले प्रस्तुति दिनेछन्। युवापुस्तामाझ निकै चर्चित केहर र उनको ब्यान्डले फिल्मका गीतसँगै अन्य लोकप्रिय गीतहरू पनि गाउनेछन्।
माघ २३ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कुमारी’का यसअघि सार्वजनिक दुई गीत ‘कता छौ‘’ र ‘तिमी बिना‘’ दर्शकमाझ रुचाइएका छन्। फिल्मको अर्को गीत चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ।
दिनेश राउतको निर्देशनमा बनेको यस फिल्ममा नव कलाकार अबिषेक खड्का र आकृति राजभण्डारीसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मालगायत कलाकारको अभिनय रहेको छ।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् भने कार्यकारी निर्माता केदार भुसाल रहेका छन्। विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायाङ्कन र सुप्रिम पराजुलीको सम्पादन रहेको यस फिल्मलाई काठमाडौँ उपत्यकामा डिसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले वितरण गर्नेछ।







९ पुष २०८२, बुधबार १७:०० 








