काठमाडौँ। ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण आगामी वर्षको बैशाख १० देखि १२ गतेसम्म आयोजना हुने भएको छ। सेलिब्रेटी नेपालको आयोजनामा हुन लागेको महोत्सवका लागि नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित फिल्महरू दर्ता गर्न आह्वान गरिएको छ।
महोत्सवमा गाउँले परिवेश झल्किने स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म तथा विभिन्न भाषाभाषीका चलचित्रहरू सहभागी हुन सक्ने आयोजकले जनाएको छ। प्राप्त फिल्महरूमध्ये निर्णायक मण्डलबाट छनोट भएका चलचित्रहरू महोत्सवमा प्रदर्शन गरिनेछ भने उत्कृष्ट फिल्महरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ।
नेपाली मौलिक चलचित्रप्रति दर्शकको आकर्षण बढाउनु, नियमित रूपमा फिल्म हेर्ने संस्कार विकास गर्नु, ग्रामीण कथामा आधारित फिल्मलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउनु तथा स्थानीय भाषा, कला, संस्कृति र पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ।
‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा चलचित्र प्रदर्शनीसँगै अन्तरक्रिया, कार्यशाला गोष्ठी आयोजना गरिने अध्यक्ष रघुनाथ सापकोटाले बताए । महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले भने, “महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्र समावेश गर्दै आएका छौँ । यसले चलचित्र भवन नभएका गाउँका दर्शकलाई पनि चलचित्रसँग जोड्छ भन्ने हाम्रो विश्वास छ ।
यसअघि महोत्सव गोरखाको लाप्राक, काभ्रेपलाञ्चोकको भकुण्डेबेसी, रामेछाप र रसुवामा सम्पन्न भइसकेको छ। यसपटकको महोत्सव आयोजना हुने स्थान भने तय हुन बाँकी रहेको महोत्सव संयोजक कमल एक्चै मगरले जानकारी दिए। चलचित्र विकास बोर्डको सहकार्यमा महोत्सव आयोजना हुँदैछ।







२७ पुष २०८२, आईतवार १८:३४ 











