म्याग्दीमा ४२ दिनमै सकियो ‘रोल नं. १’ को पहिलो चरणको छायांकन

...

काठमाडौँ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माणाधीन चलचित्र ‘रोल नं. १’ को पहिलो चरणको छायांकन सम्पन्न भएको छ। म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण क्षेत्रमा करिब ४२ दिन लगाएर चलचित्रको मुख्य दृश्यहरू खिचिएको हो।

दुई साताको वर्कसपपछि गत मंसिर १५ गतेदेखि सुरु भएको छायांकन तालिका ४५ दिनको तय भए पनि प्रतिकूल मौसम र प्राविधिक चुनौतीबीच निर्धारित समयकै आसपासमा पहिलो चरणको काम सम्पन्न भएको निर्माता विनोद पौडेलले जानकारी दिए। हिमाली जिल्ला म्याग्दीको चिसो मौसमले विशेषगरी प्राविधिक टोलीलाई कठिनाइ भएको उनको भनाइ छ।

जोन योञ्जनको निर्देशन तथा कथामा तयार भइरहेको यो चलचित्र ‘बाल मनोविज्ञान’मा आधारित छ। विद्यार्थीहरूमा देखिने सामाजिक दबाब, झूटो प्रतिष्ठा र जित्नैपर्ने मानसिकताको प्रभावलाई कथाको केन्द्रमा राखिएको छ।

मुख्य भूमिकामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी र निर्भिक रेग्मी रहेका छन्। केही दिनको विश्रामपछि काठमाडौँमा बाँकी दृश्य खिचिने जनाइएको छ। चलचित्रको प्रदर्शन मिति भने पोस्ट–प्रोडक्सन सकिएपछि मात्रै घोषणा गरिने निर्माण टिमले जनाएको छ।