काठमाडौं । मरिचमान श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘गोबर गणेश’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। माघ १ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रको कथावस्तुको दर्शकले विशेष तारिफ गरिरहेका छन्।
चलचित्रले राम्रो वर्ड अफ माउथ पाएकाले आगामी दिनमा हलमा दर्शकको संख्या अझै बढ्नेमा निर्माण टिम आशावादी छ। हलमा पुगेका दर्शकले चलचित्र आफ्नै घरको कथा जस्तो लागेको प्रतिक्रिया दिएका छन्। निम्नमध्यम वर्गीय परिवारको यथार्थ जीवनलाई सिनेमाले उठाएको दर्शकको भनाइ छ।
निर्देशक तथा मुख्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) ले दर्शकले “मेरो आफ्नै घरको कथा हेरेजस्तो लाग्यो” भन्ने प्रतिक्रिया दिइरहेको बताउँदै यसले हलमा दर्शकको चाप बढाउने विश्वास व्यक्त गरेका छन्।
बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा बनेको चलचित्रमा वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रमा तारानाथ न्यौपाने चिफ एडिटर, योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको छायांकन र विपीन मल्लको सम्पादन रहेको छ। टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहेको चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल हो भने नेपालमा वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गरेको हो।







५ माघ २०८२, सोमबार १७:४९ 










