तनहुँ । चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको पाँचदिने ‘सिनेमा साक्षात्कार’ कार्यक्रम तनहुँ जिल्लामा सुरु भएको छ। माघ २ गतेदेखि प्रारम्भ भएको कार्यक्रममा सिनेमाहल नपुगेका स्थानमा घुम्ती सिनेमा प्रदर्शन, स्थानीय जनप्रतिनिधिसँग संस्कृति तथा चलचित्र पर्यटनसम्बन्धी छलफल तथा विद्यार्थीसँग चलचित्रकर्मी संवाद कार्यक्रम सञ्चालन भइरहेको छ।
कार्यक्रम म्याग्दे गाउँपालिका, बन्दिपुर गाउँपालिका र व्यास नगरपालिकाका विभिन्न वडामा सञ्चालन भइरहेको छ। यसअन्तर्गत नेपाली चलचित्र ‘कोसेढुंगा’, ‘रंगी’ तथा लघुचलचित्र ‘खुशी’ प्रदर्शन गरिएको छ। प्रदर्शनसँगै स्थानीय दर्शकमा नेपाली चलचित्रप्रति चासो र सहभागिता उल्लेखनीय रूपमा बढेको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागी चलचित्रकर्मीलाई स्थानीय समुदायले परम्परागत सांस्कृतिक पहिरन र रोधी संस्कृतिसहित स्वागत तथा सम्मान गरेका छन्, जसले स्थानीय संस्कृति र चलचित्रबीचको सम्बन्धलाई थप मजबुत बनाएको छ।
उक्त कार्यक्रममा चलचित्र ‘कोसेढुंगा’ का निर्माता तथा कलाकार दिनेश खड्का, लेखक तथा निर्देशक जनक खड्का, चलचित्र व्यवस्थापक सुवासराज काफ्ले, सम्पादक तथा ड्रोन पाइलट नहकुल खड्का, साथै चलचित्र विकास बोर्डका अधिकृत हरिसिंह रैखोला लगायतको टोली सहभागी छ।
कार्यक्रमका क्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्न स्थानीय तह सधैँ सकारात्मक र प्रतिबद्ध रहेको बताए। उनले पालिकाभित्र रहेका पर्यटन सम्भावना भएका स्थान तथा चलचित्र छायांकन स्थलको विकास, संरक्षण र प्रवर्द्धनका लागि नीति र बजेटमार्फत प्राथमिकता दिइएको जानकारी दिए।
स्थानीय तह, विद्यार्थी र चलचित्रकर्मीबीच प्रत्यक्ष अन्तरक्रिया गराउँदै चलचित्र संस्कृतिको विस्तार, पर्यटन प्रवर्द्धन तथा ग्रामीण क्षेत्रमा सिनेमा पहुँच विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले नेपाली चलचित्रको महत्व, सम्भावना र सामाजिक भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।







५ माघ २०८२, सोमबार १७:५२ 










