काठमाडौं । माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको प्रेमकथानक चलचित्र ‘कुमारी’ले प्रचार–प्रसारलाई साङ्गीतिक र आक्रामक शैलीमा अघि बढाएको छ। सोही क्रममा आगामी माघ १० गते शनिबार साँझ ५ बजेदेखि काठमाडौंको भृकुटीमण्डपस्थित खुला स्थानमा भव्य लाइभ कन्सर्ट आयोजना गरिने भएको छ, जहाँ चलचित्रको अफिसियल ट्रेलर पनि सार्वजनिक गरिनेछ।
माघ १ गते नेपालगन्जबाट सुरु भएको ‘कुमारी’को साङ्गीतिक यात्रा पोखरा र चितवनमा सफलतापूर्वक सम्पन्न भइसकेको छ। हजारौँ दर्शकको सहभागिताले चलचित्रप्रति चासो थप बढेको निर्माण टिमको भनाइ छ।

भृकुटीमण्डप कन्सर्टमा चलचित्रका पार्श्व गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ तथा लोकप्रिय महिला गायन समूह ‘इस्त्रीज’को प्रस्तुति रहनेछ। कार्यकारी निर्माता केदार भुसालका अनुसार कार्यक्रम पूर्णतः नि:शुल्क हुनेछ।
ट्रेलर सार्वजनिक समारोहमा मुख्य कलाकार अबिशेक खड्का, आकृति राजभण्डारी, निर्देशक दिनेश राउतसहित चलचित्र युनिट, कलाकार, पत्रकार र सर्वसाधारणको उपस्थिति रहने जनाइएको छ। विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित चलचित्र ‘कुमारी’को साङ्गीतिक यात्रा माघ १७ गते झापाको दमकमा पुगेर समापन हुनेछ।







७ माघ २०८२, बुधबार १३:१८ 










