माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ इन्डक्ल्याप, रिलिज मिति चाँडै

...

काठमाडौँ । चरित्र अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भइरहेको चलचित्रपेन्सन पट्टाको सम्पूर्ण छायांकन सकिएको छ। मंगलबार कास्कीस्थित एक रिसोर्टमा ३३ दिनको छायांकनपछि चलचित्रको इन्डक्ल्याप गरिएको हो।

छायांकन सम्पन्न भएको जानकारी दिँदै निर्देशक गुरुङले कठिन परिस्थितिमा पनि दिनरात खटिएर काम गर्ने सम्पूर्ण प्राविधिक तथा सहयोगी टिमप्रति आभार व्यक्त गरे।

हालसम्म चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छैन। निर्देशक गुरुङका अनुसार अब केही दिनभित्र पोस्टप्रोडक्सनको काम सुरु हुनेछ। उनले भने, “पोस्टप्रोडक्सनमा लाग्ने समयको आधारमा चलचित्रको रिलिज मिति तय गरिनेछ। दर्शकलाई स्तरीय र सुन्दर सिनेमा दिन हामी कुनै पनि किसिमको सम्झौता नगरी काम गरिरहेका छौँ।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रमा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राईलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रमा अभिनेता माओत्से गुरुङ स्वयंको पनि लगानी रहेको छ।

शीर्षक सुन्दा भूतपूर्व लाहुरेको कथाजस्तो लागे पनिपेन्सन पट्टाले लोभी स्वभावको एक युवक कसरी दानी बन्छ भन्ने कथालाई प्रस्तुत गर्ने निर्देशक तथा निर्माता गुरुङले बताए। चलचित्रको कथा पनि उनले नै लेखेका हुन्।

मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (युके) र सपना गुरुङको लगानी रहेको यस चलचित्रका प्रोडक्सन म्यानेजर डिबी गुरुङ हुन्। छायांकन सुशन प्रजापतिले गरेका छन् भने कास्टिङ निर्देशक सुरज तमु हुन्। संगीत झुमा लिम्बु, मनोज थापा मगर र शिव बराइलीले तयार पारिरहेका छन्।

निर्देशक माओत्से गुरुङको डेब्यु निर्देशनदयारानीबक्सअफिसमा सफल भएको थियो। चरित्र अभिनयका लागि परिचित उनी पछिल्लो समय लेखन, निर्देशन र निर्माणमा समेत सक्रिय छन्। यसअघि उनले गुरुङ भाषाका चलचित्रहरू निर्देशन गरेका थिए।

चलचित्रपेन्सन पट्टालाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी रूपमा वितरण गर्नेछ।