काठमाडौं । नेपाली संगीत क्षेत्रकी अमर गायिका तारा देवीको स्मृतिमा श्रद्धा, सम्मान र सांगीतिक प्रस्तुतिसहित विशेष कार्यक्रम सम्पन्न भएको छ। तारा देवी स्मृति फाउन्डेसनको आयोजनामा तथा काठमाडौं महानगरपालिकाको सह–आयोजनामा नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा कार्यक्रम सम्पन्न भएको हो।
तारा देवीको तस्बिरमा माल्यार्पणसहित सुरु भएको कार्यक्रममा उहाँका कालजयी गीत र नेपाली संगीतमा पुर्याएको योगदानमाथि चर्चा गरियो। प्रत्यक्ष संगीत प्रस्तुतिमा उहाँका सदाबहार गीतहरू गुञ्जिँदा वातावरण भावुक बनेको थियो।
कार्यक्रममा वरिष्ठ कलाकार किरण खरेल, संगीतकार दीपक जंगम तथा पूर्वप्रमुख विद्यासुन्दर शाक्य विशेष अतिथिका रूपमा सहभागी थिए। उनीहरूले तारा देवी नेपाली संगीतको इतिहासमा अमर नाम भएको उल्लेख गरे।
सो अवसरमा गीतकार माधवप्रसाद खनाल, संगीतकार शिवशंकर मानन्धर र गायिका संगीता राना प्रधानलाई सम्मान गरिएको थियो। फाउन्डेसनका अध्यक्ष दिपक केसीले तारा देवीको स्वर र योगदान सदैव स्मरणीय रहने बताउँदै यस्ता कार्यक्रमले नयाँ पुस्तालाई नेपाली संगीतप्रति प्रेरित गर्ने विश्वास व्यक्त गरे।







१० माघ २०८२, शनिबार १४:२४ 











