काठमाडौं । हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘गोबर गणेश’ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ। माघ १ गते (माघे संक्रान्ति)देखि प्रदर्शनमा आएको चलचित्रले ९ दिनमै १ करोड १० लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ।
दोस्रो सातामा प्रवेश गर्दा पनि हलमा दर्शकको उपस्थिति उत्साहजनक देखिएको छ। सकारात्मक वर्डअफ माउथका कारण दर्शक संख्या बढ्दै गएको निर्माणपक्षको भनाइ छ। कलाकारहरू विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन्।
चलचित्र हेरेका दर्शकले यसलाई ‘आफ्नै घरको कथा’ भन्दै प्रशंसा गरेका छन्। निम्नमध्यम वर्गीय नेपाली परिवारको दैनिक संघर्ष, सपना र बाध्यतालाई यथार्थपरक ढंगले प्रस्तुत गरिएको भन्दै दर्शक भावुक हुने गरेका छन्।
बल्छी धुर्वे फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा मरिचमान श्रेष्ठसँगै वर्षा शिवाकोटी, बुद्धि तामाङ, पदम तामाङ, विनोद न्यौपाने, निर्मल शर्मा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु) र सन्तोष बानियाँ लगायतको अभिनय रहेको छ।
निर्देशक तथा मुख्य कलाकार मरिचमान श्रेष्ठले दर्शकको मायालाई सबैभन्दा ठूलो पुरस्कारको रूपमा लिँदै आगामी दिनमा हलमा उपस्थिती अझै बढ्ने विश्वास व्यक्त गरेका छन्।







१० माघ २०८२, शनिबार १४:२६ 











