खुल्ला कन्सर्ट गरेर ‘कुमारी’को ट्रेलर सार्वजनिक

...

काठमाडौं । माघ २३ गते रिलिज हुने तयारीमा रहेको नेपाली प्रेमकथानक चलचित्र ‘कुमारी’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित खुला स्थानमा भव्य कन्सर्टको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । हजारौं दर्शकको अगाडी खुला आकाशमुनि ट्रेलर रिलिज हुनु नेपाली चलचित्र इतिहासमै दुर्लभ हो । यसअघि यसरी ट्रेलर रिलिज कमै भएका छन् ।

निर्देशक दिनेश राउतले यसलाई आफ्नो सपना पूरा भएको क्षण बताउँदै दर्शकको यही उत्साह हलसम्म पुग्ने विश्वास व्यक्त गरे भने निर्माता महेन्द्र अधिकारीले दर्शकको मायाले थप जिम्मेवारी बोध गराएको बताए। कार्यक्रममा पार्श्व गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’सहित ‘इस्त्रीज’ र ‘त्रिजा प्रदान एन्ड द टुकुचा’को साङ्गीतिक प्रस्तुतिले माहोल थप रोमाञ्चक बनायो। यही चलचित्रबाट डेब्यु गरेका मुख्य कलाकार अबिषेक खड्का र आकृति राजभण्डारी दर्शकको स्वागतप्रति भावुक देखिए। सार्वजनिक ट्रेलरले प्रेम, पारिवारिक सम्बन्ध र मनोवैज्ञानिक अन्तर्द्वन्द्व समेटिएको संवेदनशील कथाको झलक दिँदै अबिषेकलाई परिस्थितिले थिचिएको संवेदनशील युवक र आकृतिलाई आत्मसम्मान र मौन विद्रोहको प्रतीक पात्रका रूपमा प्रस्तुत गरेको छ।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको, विकास सुवेदीद्वारा लिखित ‘कुमारी’ मा घनश्याम जोशी, सुनिता श्रेष्ठलगायत कलाकारको अभिनय छ। छायाङ्कन सुसन प्रजापति, सम्पादन शाहिल खान तथा कलर ग्रेडिङ सुप्रिम पराजुलीले गरेका छन्। यसअघि चर्चित ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ जस्ता गीतले अपेक्षा बढाइसकेको अवस्थामा ट्रेलर युट्युब ट्रेन्डिङमा पुगिसकेको छ। अब दर्शकको नजर माघ २३ गते सिनेमा घरमा पर्दा उत्रिने ‘कुमारी’ तर्फ केन्द्रित भएको छ।