चलचित्र ‘कुमारी’को अस्ट्रेलिया, अमेरिका, क्यानडा र मध्यपूर्व रिलिज अधिकार बिक्री

...

काठमाडौंमाघ २३ गते नेपालभर प्रदर्शनमा आउन लागेको वर्षकै बहुप्रतीक्षित नेपाली प्रेम कथानक चलचित्र *‘कुमारी’*को ओभरसिज प्रदर्शन अधिकार विभिन्न देशहरूमा बिक्री भएको छ। निर्माता महेन्द्र अधिकारीका अनुसार चलचित्रको अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानडा तथा मध्यपूर्वका देशहरूका लागि प्रदर्शन अधिकार बिक्री भइसकेको छ।

अस्ट्रेलियामा चलचित्रलाई असकास्ट नेपाल र थ्री केजी इभेन्ट्सले रिलिज गर्नेछन् भने अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोलोराडोले प्रदर्शन गर्नेछन्। त्यसैगरी क्यानडामा मेरो इभेन्ट्स र मध्यपूर्वका देशहरूमा नेपफिल्मले चलचित्र वितरण गर्नेछन्।

ट्रेलर सार्वजनिक भएपछि प्राप्त उत्साहजनक प्रतिक्रियाका कारण अन्य देशहरूबाट पनि चलचित्र प्रदर्शनका लागि निरन्तर प्रस्ताव आइरहेको निर्माता अधिकारीले बताए। काठमाडौंको भृकुटीमण्डपमा दश हजारभन्दा बढी दर्शकको ऐतिहासिक उपस्थितिमा ट्रेलर सार्वजनिक भएपछि चलचित्रले स्वदेश तथा विदेशमा व्यापक सकारात्मक प्रतिक्रिया पाएको छ। छोटो समयमै युट्युब ट्रेन्डिङमा परेको ट्रेलरले हालसम्म करिब ८ लाख भ्युज प्राप्त गरिसकेको छ।

निर्देशक दिनेश राउतले विशाल दर्शकमाझ ट्रेलर सार्वजनिक हुनु आफ्नो सपना पूरा भएको अनुभूति भएको बताउँदै यही उत्साह सिनेमा हलसम्म पनि पुग्ने विश्वास व्यक्त गरेका छन्।

चलचित्र *‘कुमारी’*बाट अभिनेता अबिषेक खड्का र अभिनेत्री आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मा लगायत कलाकारहरूको अभिनय रहेको छ।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन्। छायाङ्कन सुसन प्रजापति, सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुली, साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनको रहेको छ भने कार्यकारी निर्माता केदार भुसाल हुन्।

चलचित्रका गीतहरू डोको बुन्ने, कता छौ मेरो फूल तिमी बिना यसअघि नै चर्चामा रहेका छन्। विशेषगरी डोको बुन्ने गीतले ६० लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ। चलचित्रका सबै गीतमा केहर सिंह लिम्बुको स्वर रहेको छ भने संगीत सुमन तामाङ र शब्द सागर लामिछाने मगर तथा सुमन तामाङको रहेको छ।

प्रेमकथामा सफल पहिचान बनाइसकेका निर्देशक दिनेश राउत सामाजिक विषयका चलचित्रपछि पुनः प्रेम कथामा फर्किएका छन्। *‘कुमारी’*ले स्वदेश तथा विदेशका दर्शकको मन जित्ने विश्वास निर्माण पक्षले लिएको छ।