काठमाडौं । निर्देशक सुदीप भूपाल सिंह निर्देशित नयाँ नेपाली सिनेमा ‘श्री बुकुरो स् द होम कलिङ’ को रोमान्टिक पोस्टर सार्वजनिक गरिएको छ। आधिकारिक ट्रेलर सार्वजनिक हुनु अघि रिलिज गरिएको पोस्टरमा आशीर्वाद बी। क्षेत्री र निकिता आचार्य गहिरो रोमान्टिक मुडमा देखिएका छन्।
पोस्टरले पर्दामा उनीहरूको प्रेमकथा विशेष रूपमा प्रस्तुत हुने संकेत गरेको छ। करिब सात वर्षपछि निर्देशनमा पुनरागमन गरेका निर्देशक सिंहले यसअघि चर्चित फिल्म ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका थिए।
रेञ्ज ब्यानरमा निर्माण भएको पारिवारिक कथावस्तुमा आधारित सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतीक राज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मि भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायत कलाकारको अभिनय रहेको छ।
सिनेमाको कथा तथा पटकथा निर्देशक सिंहले नै लेखेका हुन् भने निर्माता रुबी सेन सिंह हुन्। छायांकन सञ्जय लामा र राजेश श्रेष्ठले गरेका छन्। सिनेमाको छायांकन मुस्ताङ, बागलुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौं लगायत स्थानमा गरिएको हो।
सिनेमामा रनजीत गजमेर र बसन्त सापकोटाको संगीत रहेको छ।







२३ माघ २०८२, शुक्रबार १५:४० 











