काठमाडौं । महाशिवरात्रिको अवसर पारेर आगामी फागुन १ गतेदेखि प्रदर्शन तयारीमा रहेको सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ। ग्रामीण परिवेशमा निर्माण गरिएको सिनेमाले पारिवारिक स्नेह, मिलन र नोकझोंकलाई केन्द्रमा राख्दै दर्शकको भावनामा छुने कथा प्रस्तुत गरेको छ।
काव्यात्मक न्यारेसन शैलीमा तयार पारिएको करिब ३ मिनेट ३३ सेकेन्ड लामो ट्रेलरमा मुख्य पात्र लक्ष्मी गिरीलाई केन्द्रमा राखेर सानो घर बनाउने चाहना, छोराहरूको विवाह र उनीहरूको खुसीप्रतिको आमाको सपना चित्रण गरिएको छ। ट्रेलरले पात्रको मनोदशा, अपेक्षा र द्वन्द्वलाई सूक्ष्म रूपमा प्रस्तुत गर्दै कथावस्तुबारे संक्षिप्त संकेत गरेको छ।
सुदीप भूपाल सिंहको लेखन तथा निर्देशन रहेको यस सिनेमाबाट उनी करिब ९ वर्षपछि निर्देशनमा फर्किएका हुन्। यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका थिए। पछिल्लो समय पारिवारिक तथा सामाजिक कथावस्तुका चलचित्रले दर्शकको मन जितिरहेको सन्दर्भमा ‘श्री बुकुरो’लाई दर्शकले रुचाउने विश्वास निर्देशक सिंहले व्यक्त गरेका छन्।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको अभिनय रहेको छ। निर्माता रुबी सेन सिंह हुन्।
सिनेमाको छायांकन मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा गरिएको हो। सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन गरेका छन् भने बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन रहेको छ।
सिनेमाका गीतमा रञ्जीत गजमेर, बसन्त सापकोटा र विक्रम कार्कीको संगीत तथा शिव परियार, विशेष पौडेल, युक्ति बिमली, सविन सुवेदी र सन्देश पौडेलको स्वर रहनेछ।







२३ माघ २०८२, शुक्रबार १५:४५ 











