काठमाडौँ । दोस्रो हप्तामा प्रवेश गरेको ‘रमिताको पिरती’ले दर्शकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाइरहेको छ । दर्शकले सिनेमाको कथावाचन र कलाकारको कामको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् ।
‘जेरी’ यता अभिनयका लागि प्रशंसाका शब्द सुन्न नपाएकी आना शर्माका लागि ‘रमिताको पिरती’ले सञ्जिवनी बुटीको काम गरेको छ । दर्शकको उनको अभिनय देखेर हुरुक्क छन् भने सिनेमाको समग्र सन्देशले पनि आफूहरुलाई भित्रैदेखि छोएको उनीहरुको प्रतिक्रिया छ ।
सिनेमाले बिखन्डित परिवारमा हुर्किएकी रमिता नामक युवतीको प्रेम र धोकाको यात्रालाई प्रस्तुत गरेको छ । तर, आना शर्माले निर्वाह गरेको यो सिनेमाले जेन्जी पुस्ताको भावनालाई दुरुस्त उतारेको युवा दर्शकको प्रतिक्रिया छ । लेखक तथा निर्देशक सुदीप्ताका अनुसार हल भिजिटमा जजसले उनलाई प्रतिक्रिया दिएका छन्, सबैले आफ्नै कथा हेरिरहेको प्रतिक्रिया दिएको सुनेकी छिन् ।
‘खासगरि जेन्जी उमेरका युवतीले रमिताको पिरतीमा आफ्नै कथा पाएको पाएको बताउनु हुन्छ । यो मेरा लागि खुसीको कुरा हो । तर सिनेमाको मुख्य सन्देश भनेको हाम्रो समस्यालाई हेर्ने दृष्टिकोण हो । कतै समस्या हामी आफैँमा त छैन रु भनेर सिनेमाले जसरी सिनेमा भित्रको चरित्रलाई प्रश्न गर्न प्रेरित गरेको छ, यो प्रश्न दर्शकमा पनि प्रवाह भएको छ । यसले मलाई अतिरिक्त खुसी दिएको छ,’सुदीप्ताको भनाइ छ ।
यो सिनेमामा आनाको अभिनयले पनि धेरैको मन जितेको छ । यसरी आनाको अभिनयको प्रशंसा गर्नेमा अभिनेता भुवन केसी पनि छन् । उनले ‘रमिताको पिरती’ हेरेपछि जेरी जोडी अनमोल केसी र आना शर्मालाई लिएर सिनेमा बनाउने रहर लागेको प्रतिक्रिया दिएका छन् । उनले मिडियासामु प्रतिक्रिया दिँदै सिनेमा उच्च कोटिको बनेको र त्यसमा आनाको अभिनय अझै उत्कृष्ट रहेको बताएका थिए । अभिनेत्रीहरु ऋचा शर्मा र बेनिशा हमालले पनि सिनेमा र आनाको अभिनयको खुलेर तारिफ गरेका थिए ।
यसको असर सिनेमा घरमा पनि देखिन थालेको वितरक करण श्रेष्ठ बताउँछन् । उनले दर्शकको चासोसँगै सिनेमा घरले ‘रमिताको पिरती’को सो थप्न थालेको जानकारी गराए । करणका अनुसार लबिम मल, रञ्जना, वन सिनेमा, सिटी स्क्वायर आदि हलले सो थपेका छन् भने कीर्तिपुर, बिग मुभिज, शुभकामना बनेपा आदि हलले हटाएको सो फिर्ता ल्याएका छन् । यसले आगामी हप्ता सिनेमाले थप गति समात्ने अपेक्षा बढेको करण बताउँछन् ।







६ फाल्गुन २०८२, बुधबार १४:२६ 











