काठमाडौं । ब्लकबस्टर चलचित्र ‘घर ज्वाइँ’का निर्देशक अनिल बुढा मगर आफ्नो दोस्रो फिचर फिल्म ‘मितज्यू’ लिएर दर्शकमाझ आउँदैछन् । ग्रामीण परिवेश, नेपाली संस्कृति र सुटुक्क प्रेम कथालाई समेटेर बनाइएको चलचित्रको ट्रेलरले अहिले चर्चा बटुलिरहेको छ ।
‘मितज्यू’ले नेपाली समाजमा रहेको मित लगाउने परम्परा, त्यसपछिका सम्बन्ध, व्यवहार र त्यसबाट उत्पन्न हुने द्वन्द्वलाई प्रस्तुत गरेको छ । एउटी युवतीका कारण दुई मितबीच आउने फाटो र त्यसले ल्याउने तनाव चलचित्रको मुख्य कथावस्तु रहेको संकेत ट्रेलरले गरेको छ ।
निर्माता जनक घर्ती मगरका अनुसार चलचित्रमा कथा, प्रेम र द्वन्द्वलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ । चलचित्रमा सौगात मल्ल, दयाहाङ राई र तेरिया मगर मुख्य भूमिकामा छन् ।
ग्रामीण संस्कृति र मित्रताको कथामा आधारित चलचित्र ‘मितज्यू’ जेठ ८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।





३० बैशाख २०८३, बुधबार १६:५० 










