चलचित्र ‘बाः एक योद्धा’को वितरकमा कुवेर सिने डिस्ट्रिब्युसन

...

काठमाडौँ । चलचित्र ‘बाः एक योद्धा’लाई कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्ने भएको छ । निर्माता वसन्त लम्साल र कुवेर सिने डिस्ट्रिब्युसनबीच मंगलबार सिनेमाको वितरणलाई लिएर कागजी सम्झौता भएको छ ।

चलचित्र ‘बाः एक योद्धा’ र सिने डिस्ट्रिब्युसनका सञ्चालकद्वय आशिष एच तामाङ र प्रदीप धामीबीच सम्झौता भएको हो । हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गतेबाट प्रदर्शनमा आउँदैछ । ‘बाः एक योद्धा’ कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो ।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार लम्साल रचनाकार र गायक पनि हुन् । फिचर फिल्ममा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका हुन् ।

चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । गायक तथा सर्जकसमेत रहेका लम्सालले यसअघि अभिनेता विपीन कार्कीलाई लिएर चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए । चलचित्रमा अभिनेत्री झरना थापा, सुहाना थापा, अभिनेता दिव्यदेव पन्तलगायत कलाकार मुख्य भूमिकामा छन् । ‘बाः एक योद्धा’ले नेपाली समाजको वास्तविक पक्षलाई उजागर गर्नेछ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूको कथा ‘बा ः एक योद्धा’को मुख्य कथानक हो ।

शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् ।