काठमाडौं । गायक सोम गुरुङले नयाँ गीत ‘चौंरीको गोठ’ सार्वजनिक गरेका छन् । लोक–पप शैलीमा तयार पारिएको यस गीतले नेपाली पहाडी जनजीवन, संस्कृति र प्रेमको निकै सुन्दर चित्रण गरेको छ ।
गीतको शब्दमा एउटा प्रेमीले आफ्नो प्रेमिकाको फोटो खल्तीमा सजाएर राखेको र समयसँगै त्यो रङ्गीन फोटो सादा हुँदै गएको प्रसंगलाई निकै घतलाग्दो गरी प्रस्तुत गरिएको छ । ‘रङ्गीन फोटो कान्छीको, खल्तीमा राख्दा राख्दै सादा भो…” भन्ने बोलमार्फत प्रेमीको निष्कपट प्रेम र समर्पणलाई व्यक्त गरिएको छ । गीतमा रमेश दाहालको शब्द, केशव पौडेलको संगीत जुगल डंगोलको संगीत संयोजन छ ।
गीतको भिडियोमा सुरेश कोली र रश्मी गुरुङको अभिनय छ । उनलाई बाल कलाकार काफिया प्रिले साथ दिएका छन् । भिडियोको सुरुवातमै सारङ्गीको मधुर धुन र परम्परागत नेपाली भेषभूषामा सजिएका कलाकारहरूको सामूहिक नृत्यले दर्शकलाई आकर्षित गर्छ । पहाडको थुम्को, हरियाली र स्वच्छ वातावरणले भिडियोलाई निकै जीवन्त बनाएको छ ।
निर्देशन अनुभवी निर्देशक समन अधिकारीले गरेका हुन् । भिडियोमा नेपाली मौलिक कला र संस्कृतिलाई आधुनिक सिनेम्याटिक शैलीमा खिचिएको छ।





१२ जेष्ठ २०८३, मंगलवार १६:११ 










