लोकदोहोरी गीत ‘घरमा माहुरी’ सार्वजनिक, मदन ढकाल र शान्तिश्री परियारको सहकार्य

...

काठमाडौं । टिपिकल तथा सांस्कृतिक लोकदोहोरी गीत घरमा माहुरी सार्वजनिक भएको छ। लोकप्रिय गायक मदन ढकाल र गायिका शान्तिश्री परियारको स्वरमा रहेको यो गीत सार्वजनिक भएको छोटो समयमै दर्शकश्रोतामाझ राम्रो प्रतिक्रिया पाइरहेको छ।

गीतमा गायक मदन ढकाल, बद्री सापकोटा, जुना गुरुङ र सुनिशा बजगाईंको अभिनय देख्न सकिन्छ। भिडियोमा उनीहरूले मगर भेषभूषामा रोधी शैलीमा रमाइलो प्रस्तुत गरेका छन्। गीतको शब्द तथा संगीत बद्री सापकोटाले तयार गरेका हुन्। भिडियोको निर्देशन जेरी भण्डारीले गरेका हुन्। काठमाडौंमा छायांकन गरिएको भिडियोमा मौलिक लोकसंस्कृति झल्काउने प्रयास गरिएको छ।

गायक मदन ढकालले शान्तिश्री परियारसँगको सहकार्यलाई विशेष अनुभवको रूपमा लिएको बताएका छन्। उनले कलाकारहरूसँगको काम गर्ने वातावरण सहज र रमाइलो भएको पनि बताएका छन्। २०६७ सालदेखि गायन यात्रा सुरु गरेका मदन ढकालले हालसम्म करिब डेढ दर्जन गीतमा स्वर दिइसकेका छन्। पहिले इन्जिनियर बन्ने सपना देखेका उनी पछि अडिटिङ क्षेत्रमा काम गर्दै संगीतलाई भने निरन्तरता दिँदै आएका छन्।

टिएम म्युजिक प्रोडक्सनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको घरमा माहुरी लाई दर्शकहरूले सकारात्मक रूपमा लिइरहेका छन्।