‘लौन नी यस्तो भए म किन’ लोकप्रिय बन्दै, टिकटक ट्रेन्डिङको पहिलो नम्बरमा

...

काठमाडौं । पछिल्लो साता सार्वजनिकमा आएको लौन नी यस्तो भए म किन बोलको गीत अहिले चर्चामा छ । बिशेषगरी यो गीतको भिडियो र अडियो दुबैलाई दर्शकले उत्तिकै मन पराएका छन्, कारण गीतको अडियोको मिठास र भिडियोको फरकपन । भिडियोमा बिदेशी कलाकारहरुको अभिनयले गर्दा पनि भिडियो आकर्षक बनेको छ ।

यो गीत पछिल्ला वर्षहरूमा लगातार हिट गीत प्रस्तुत गर्दै आएका गायक, संगीतकार तथा निर्माता सुरेश अन्जानको हो । युट्युबमा सार्वजनिक भएको यो गीतले ८ दिनमै १७ लाखभन्दा बढी भ्यूज प्राप्त गरेको छ भने टिकटक ट्रेन्डिङको पहिलो स्थानमा पुग्न सफल भएको छ । पछिल्लो समय टिकटकले पनि आफ्नो लिस्टमा कुन गीतको कुन टुक्का ट्रेन्डिङ (हट लिस्ट)मा छ त्यो देखाउने गरेको छ ।

यसअघि ‘मेरी भूपु मायालुलाई’, ‘विहेको निम्तोलाई’ र ‘हिमाली फूललाई’ जस्ता करोडौँ दर्शकको मन जितेका गीत दिएका सुरेश अन्जानले फेरि एकपटक नयाँ गीतमार्फत चर्चा बटुलेका हुन्। सार्वजनिक भएको ८ दिनमै १५ लाखभन्दा बढी भ्यूज पार गरेको गीतले अहिले सामाजिक सञ्जालमा व्यापक लोकप्रियता हासिल गरिरहेको छ।

गीतमा सुरेश अन्जानसँगै गायिका अन्जीता विश्वकर्माको स्वर रहेको छ। आकर्षक शब्द, मिठो लय र नाच्न मन लाग्ने तालका कारण गीत सबै उमेर समूहका दर्शक तथा श्रोतामाझ लोकप्रिय बन्दै गएको छ।

गीतको भिडियो पनि विशेष आकर्षणको केन्द्र बनेको छ। निर्देशक अनुष्का घर्ती क्षेत्रीले अफ्रिकामा छायांकन गरेको भिडियोमा त्यहाँ बसोबास गर्दै आएका विष्णु गिरीसँगै अफ्रिकी कलाकार धुर्बे र आएस्याटको दमदार नृत्य देख्न सकिन्छ। उनीहरूको ऊर्जा र प्रस्तुतिले भिडियोमा थप रौनकता ल्याएको दर्शकहरूको प्रतिक्रिया छ।

सुरेश अन्जानको निर्माणमा तयार भएको भिडियोमा टिजे ओलाडेजोले छायांकन गरेका छन् भने सम्पादन राजकुमार मगरले गरेका छन्।

युट्युब र टिकटक दुवै प्लेटफर्ममा एकसाथ उच्च लोकप्रियता हासिल गरिरहेको ‘लौन नी यस्तो भए म किन ?’ अहिले नेपाली लोकसंगीतका चर्चित गीतमध्ये एक बनेको छ।