मिथिला शर्माको गुरु दक्षिणा : सन्तोष पन्तदेखि किरण प्रधानसम्म सम्मानित हुने

...

काठमाडौं । वरिष्ठ अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले आफ्ना अभिनय, गायन र नृत्यका गुरुहरूको स्मृतिमा स्थापना गरेकोगुरु दक्षिणासम्मानलाई यस वर्ष पनि निरन्तरता दिने भएकी छन्।

गत वर्षदेखि सुरु गरिएको उक्त सम्मान गुरु पूर्णिमाको अवसरमा साउन १३ गते बुधबार काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजना हुने नेपाल पूर्व प्रहरी कलाकार संघको दोस्रो वार्षिकोत्सव तथा तेस्रो स्रष्टा सम्मान कार्यक्रममा प्रदान गरिनेछ।

यस वर्ष राजपाल थापा नृत्य साधना सम्मान२०८३ सुप्रसिद्ध नृत्यांगना विमल श्रेष्ठ क्षेत्रीलाई, गोपाल योञ्जन संगीत साधना सम्मान२०८३ गायक तथा संगीतकार डा. किरण प्रधानलाई, चेतन कार्की गीति वाङ्मय साधना सम्मान२०८३ साहित्यकार तथा गीतकार उपरथी राजेन्द्र थापालाई तथा हाडा एन्ड पाल हास्य वाङ्मय साधना सम्मान हास्य कलाकार तथा निर्देशक सन्तोष पन्तलाई प्रदान गरिनेछ।

त्यस्तै, अभिनेता तथा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अर्जुनजंग शाहीलाई पहिलोपटक नेपाल पूर्व प्रहरी कला साधना सम्मान२०८३ प्रदान गरिनेछ।

नेपाल पूर्व प्रहरी कलाकार संघकी सल्लाहकारसमेत रहेकी शर्माले आफ्ना गुरुहरूको योगदानलाई सधैं स्मरणीय बनाउने उद्देश्यले उनीहरूको नाममा सम्मान स्थापना गरेको बताइन्। उनका अनुसार गुरुहरूको इतिहास र योगदानलाई नयाँ पुस्तासम्म जीवित राख्ने विश्वासका साथ यो अभियानलाई निरन्तर अघि बढाइएको हो।