‘लज्जावती’को दोस्रो गीत सार्वजनिक, प्रेम र विछोडको पीडामा श्रीकृष्ण निरौलाको भावुक अभिनय

...

काठमाडौं । यही साउन २९ गतेदेखि प्रदर्शनमा आउने चलचित्रलज्जावतीको दोस्रो गीतमलाई पिर परेको तिम्लाई के थाहा छसार्वजनिक गरिएको छ। निर्माण टिमले बिहीबार युट्युबमार्फत गीत सार्वजनिक गरेको हो।

मर्मस्पर्शी बनेको गीतको भिडियोमा मेनुका माझी र श्रीकृष्ण निरौलाबीचको प्रेम र विछोडपछि आउने भावनात्मक अवस्थालाई चित्रण गरिएको छ। प्रेमिकाबाट टाढिएपछि मानसिक रूपमा विचलित बनेका पात्रको भूमिकामा श्रीकृष्ण निरौलाको अभिनय प्रभावशाली देखिन्छ। भिडियोमा उनी जहाँ गए पनि आफ्नो प्रेमिकाको सम्झनामा हराइरहेको दृश्य प्रस्तुत गरिएको छ।

गीतको भिडियोमा हराएका श्रीकृष्णलाई मुकुन भुसाल र जानुका विश्वकर्माले खोजिरहेको दृश्य पनि समावेश गरिएको छ। गीतमा थानेश्वर गौतमको स्वर, भीमकुमार ओझाको शब्द, सन्तोष बिसीको संगीत तथा नारायण दंगालको संगीत संयोजन रहेको छ।

यसअघि सार्वजनिक भएको चलचित्रको पहिलो गीतदिलको मोटरसामाजिक सञ्जाल टिकटक र फेसबुक रिल्समा चर्चित बनेको छ। ट्रेलरले पनि दर्शकमाझ राम्रो प्रतिक्रिया पाएकाले दोस्रो गीतले पनि उत्तिकै साथ पाउने निर्माण टिमको अपेक्षा छ।

राजबहादुर सानेको निर्देशनमा बनेको चलचित्रले प्रेम सम्बन्धमा आउने उतारचढाव, विछोड र संघर्षको कथा प्रस्तुत गर्ने निर्देशक सानेले बताएका छन्। चलचित्रमा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेलको अभिनय रहेको छ।

आहा फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको चलचित्रका प्रस्तुतकर्ता सौरभ वली हुन्। कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन्। चलचित्रमा तारा थापाकिम्भेको सम्पादन, देव महर्जनको द्वन्द्व निर्देशन तथा दिव्यराज सुवेदीको छायाङ्कन रहेको छ। चलचित्रलाई कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ।