काठमाडौं । आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘बा : एक योद्धा’को नयाँ गीत ‘नभन्नू कोइसित’ सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहीबार नेपाली मौलिक पञ्चेबाजाको लयमा तयार गरिएको डान्सिङ नम्बर सार्वजनिक गरेको हो।
हरि लम्सालको शब्द तथा संगीत रहेको गीतमा समीक्षा अधिकारी र सागर आलेको स्वर रहेको छ। नेपाली विवाह र उत्सवको झल्को दिने गीतको भिडियोमा केकी अधिकारी र करण साहको आकर्षक नृत्य प्रस्तुत गरिएको छ।
भिडियोमा एक युवकले युवतीलाई विवाहको प्रस्ताव राख्ने र युवतीले बुवाआमाले रोजेको व्यक्तिसँग विवाह गर्ने निर्णय सुनाउने कथालाई रोचक ढंगले प्रस्तुत गरिएको छ। सरकारी जागिरको प्रलोभन देखाइएपछि पनि युवतीले घमण्डी व्यक्तिसँग विवाह गर्न नसक्ने अभिव्यक्ति दिँदै भिडियो टुंगिन्छ।
यसअघि चलचित्रको शीर्ष गीत ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ सार्वजनिक गरिएको थियो, जसले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको ‘बा : एक योद्धा’ले नेपाली समाजमा सन्तानको भविष्यका लागि एक बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीको कथा प्रस्तुत गर्नेछ। संगीतकारका रूपमा लामो समयदेखि सफल रहेका लम्सालको यो पहिलो फिचर चलचित्र निर्देशन हो।
चलचित्रमा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको मुख्य अभिनय रहेको छ। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता रहेका छन्।
चलचित्रमा शिवराम श्रेष्ठको छायाङ्कन रहेको छ भने तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक हुन्। चलचित्रलाई आशिष एच तामाङ र प्रदीप धामीको कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।






२२ श्रावण २०८३, शुक्रबार १६:५५ 









