सौगात मल्ल ‘द राइज अफ साम्राज्य’मा अनुबन्ध, २५ देखि ८० वर्षसम्मको भूमिका निभाउने

...

काठमाडौं । निर्देशक सौरभ चौधरीको नयाँ चलचित्रद राइज अफ साम्राज्यमा अभिनेता सौगात मल्ल मुख्य भूमिकामा अनुबन्ध भएका छन्।अगस्त्यः च्याप्टर १पछि सौरभ र सौगात दोस्रो पटक सहकार्य गर्न लागेका हुन्।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको थिम पोस्टर केही दिनअघि सार्वजनिक गर्दै औपचारिक घोषणा गरिएको थियो। अब निर्माण टिमले पहिलो कलाकारका रूपमा सौगात मल्ललाई अनुबन्ध गरेको जानकारी दिएको हो।

निर्देशक सौरभ चौधरीका अनुसार चलचित्रको कथाले अभिनयमा गहिराइ भएको कलाकारको माग गरेकाले सौगातलाई छनोट गरिएको हो। अन्य कलाकारको छनोट प्रक्रिया जारी रहेको र केही दिनमै सार्वजनिक गरिने उनले बताएका छन्।

यस चलचित्रमा सौगातले २५ वर्षको युवादेखि ८० वर्षको वृद्धसम्मको जीवनयात्रा प्रस्तुत गर्नेछन्। एउटै पात्रको लामो समयावधिको यात्रा देखाउनुपर्ने भएकाले यो भूमिका उनको करिअरकै चुनौतीपूर्णमध्ये एक हुने निर्माण टिमको विश्वास छ।

चलचित्रको कथा तथा पटकथा चर्चित उपन्यासकार बुद्धिसागरले लेखेका हुन्। यसअघि सार्वजनिक गरिएको थिम पोस्टरले चलचित्रलाई ऐतिहासिक पृष्ठभूमिमा आधारित एपिक एक्सन ड्रामाका रूपमा प्रस्तुत गर्ने संकेत दिएको थियो।

निर्देशक चौधरीले यसपटक अघिल्ला चलचित्रभन्दा ठूलो क्यानभासमा काम गर्ने तयारी गरेका छन्। निर्माण पक्षका अनुसार यो नेपाली चलचित्र उद्योगकै ठूलो स्केलका एक्सन चलचित्रमध्ये एक हुनेछ।

चलचित्रको छायाङ्कन भदौ पहिलो सातादेखि सुरु हुनेछ। करिब ७० दिनको छायाङ्कन तालिका तय गरिएको छ, जसको अधिकांश भाग पूर्वी नेपालका विभिन्न स्थानमा खिचिनेछ।

चलचित्रका निर्माता प्रवेश चौधरी र निला देव हुन्। विश्वास बस्नेत (बेन) सहनिर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता रहेका छन्। प्राविधिक पक्षमा मानकृष्ण महर्जन डीओपी, श्री श्रेष्ठ एक्सन निर्देशक रहेका छन्। चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल, पब्लिसिटी पार्टनर टौवा स्टुडियो तथा वितरक डीसीएन रहेको छ।