काठमाडौं । प्रत्येक शुक्रबारझैँ आज शुक्रबार असोज २ गतेदेखि तीन नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । आजबाट ‘झिंगे दाउ २’, ‘कार्की साइँला’ र ‘माया बस्छ कि के हो’ प्रदर्शनमा आएका हुन् । यी तीन चलचित्र थपिएसँगै देशभरका हलमा प्रदर्शन भइरहेका नेपाली चलचित्रको संख्या ८ पुगेको छ ।
नयाँ प्रदर्शनमा आएका तीन चलचित्रमध्ये ‘झिंगे दाउ २’ले मल्टिप्लेक्समा सबैभन्दा धेरै शो पाएको छ । देशभरका मल्टिप्लेक्समा यस चलचित्रले १४२ शो पाएको छ । यससँगै आजबाट प्रदर्शनमा आएको ‘कार्की साइँला’ले ५१ शो पाएको छ भने ‘माया बस्छ कि के हो’ले भने निकै कम ३ शो मात्र पाएको छ ।
‘माया बस्छ कि के हो’ काठमाडौंका मल्टिप्लेक्समा शोविहीन छ । काठमाडौं बाहिरका जम्मा तीन हलले मात्र चलचित्रलाई शो दिएका छन् । नयाँ तीन चलचित्रमध्ये सबैभन्दा कमजोर शो पाएको ‘माया बस्छ कि के हो’का लागि पहिलो दिनको शो वितरण नै चुनौतीपूर्ण देखिएको छ ।
गत साता एकसाथ प्रदर्शनमा आएका ‘बेहुली’ र ‘पेन्सन पट्टा’ले भने दोस्रो सातामा पनि मल्टिप्लेक्समा निरन्तरता पाएका छन् । ‘बेहुली’ले ६१ शो र ‘पेन्सन पट्टा’ले ७९ शो पाएका छन् । दुवै चलचित्रले दोस्रो सातामा पनि उल्लेख्य शो कायम राखेका छन् ।
त्यस्तै, ‘पार्वती’ तेस्रो सातामा प्रदर्शनरत छ । चलचित्रले देशभरका मल्टिप्लेक्समा १५ शो पाएको छ । नेपाली–फ्रेन्च–जर्मन सहकार्यमा बनेको ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ले २० शो पाएको छ भने यसअघि प्रदर्शनमा आएको ‘गौंथली’ले २ शो पाएको छ ।
मल्टिप्लेक्समा नेपाली चलचित्रको शो
|
चलचित्र |
शो संख्या |
|
झिंगे दाउ २ |
१४२ |
|
पेन्सन पट्टा |
७९ |
|
बेहुली |
६१ |
|
कार्की साइँला |
५१ |
|
तिनीहरू : एलिफेन्ट्स इन द फग |
२० |
|
पार्वती |
१५ |
|
माया बस्छ कि के हो |
३ |
|
गौंथली |
२ |
यी आठ नेपाली चलचित्रसँगै अहिले देशभरका हलमा ६ वटा विदेशी चलचित्र पनि प्रदर्शनरत छन् । नयाँ तीन नेपाली चलचित्र थपिएपछि शुक्रबारबाट हलमा नेपाली चलचित्रको उपस्थिति थप बाक्लिएको छ भने शो वितरणले कुन चलचित्रप्रति हल सञ्चालकको प्राथमिकता कस्तो छ भन्ने पनि देखाएको छ ।







२ आश्विन २०८३, शुक्रबार ०८:११ 









