काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय चलचित्र ‘जलाकी’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले ‘पहिलो झलक’ नाम दिएर युट्युबमार्फत चलचित्रको टिजर सार्वजनिक गरेको हो ।
सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार उपासना सिंह ठकुरी, सोनम तोप्देन, अस्तित्व भट्टचन र साहारा हाङमा लिम्बूलाई प्रस्तुत गरिएको छ । टिजरमा उपासना शिक्षिकाको भूमिकामा देखिएकी छन् । उनको बाल्यकाल, कलेज जीवनका क्रममा सोनमसँग विकसित हुने प्रेमसम्बन्ध तथा आमाको सम्झनालाई टिजरमा भावनात्मक रूपमा प्रस्तुत गरिएको छ ।
सुन्दर हिमाली दृश्यदेखि पहाड, हरियाली वनजंगल र नदीसम्मका प्राकृतिक दृश्यले टिजरलाई आकर्षक बनाएका छन् । टिजरले चलचित्रको कथाबारे धेरै कुरा खुलासा नगरी दर्शकमाझ कौतुहलता सिर्जना गरेको छ ।
यसअघि सार्वजनिक चलचित्रको ‘चाँदी जलप’ गीत र पोस्टरले समेत दर्शकको ध्यान खिचिसकेको थियो । त्यसपछि सार्वजनिक गरिएको टिजरले ‘जलाकी’प्रतिको चासोलाई थप बढाएको छ ।
‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउनेछ । मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुंगाले बनाइएको स्तम्भलाई ‘जलाकी’ भनिन्छ । निर्देशक थापा मगरले यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावनालाई चलचित्रमा प्रस्तुत गरिएको बताएका छन् ।
चलचित्रमा उपासना र सोनमसँगै शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्गबहादुर पुन ‘खबपु’, लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिनलगायत कलाकारको अभिनय छ । विशेष भूमिकामा क्याप्टेन विजय लामा छन् ।
बालकलाकारतर्फ मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगरले अभिनय गरेका छन् । यही चलचित्रबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गर्दैछिन् ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता ओम घर्ति मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर ‘बबिता राना’, मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् ।
निर्देशक अशोक थापा मगरको यसअघि निर्देशित चलचित्र ‘खुस्मा’ व्यावसायिक रूपमा सफल भएको थियो । चलचित्रको ‘रुकुम मैकोट’ गीत टिकटक, फेसबुक रिल्स र युट्युबमा लोकप्रिय बनेको थियो । ‘खुस्मा’को सफलतापछि निर्देशक मगरको नयाँ चलचित्र ‘जलाकी’प्रति पनि दर्शकको चासो बढेको छ ।
‘जलाकी’लाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले वितरण गर्नेछ ।







२ आश्विन २०८३, शुक्रबार १७:०१ 









