आनन्द कार्कीले पारिश्रमिक नपाएको बताएपछि दुर्गेश थापाले सार्वजनिक गरे भुक्तानीको प्रमाण

...

काठमाडौं । वरिष्ठ गायक आनन्द कार्कीले कलाकार दुर्गेश थापाले गीत गाउन लगाएर पारिश्रमिक नदिएको आरोप लगाएपछि दुर्गेशले त्यसको खण्डन गर्दै आफूले भुक्तानी गरिसकेको प्रमाण सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै उक्त विषयमा आफ्नो धारणा स्पष्ट पारेका हुन्।

प्राइम टिभीबाट प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा गायक कार्कीले दुर्गेशले आफूसँग काम गराए पनि पारिश्रमिक नदिएको, धन्यवादसमेत नभनेको र सम्पर्कमा पनि नआएको भन्दै चित्त दुखाएका थिए। उनको उक्त अभिव्यक्तिपछि दुर्गेशले सामाजिक सञ्जालमार्फत आफ्नो पक्ष सार्वजनिक गरेका हुन्।

दुर्गेशका अनुसार उनको सिर्जना ‘दुश्मन हेरेको हेर्‍यैमा’ गीतमा सहकार्य गरेका गायक कार्कीसहित सम्पूर्ण कलाकार तथा प्राविधिकको पारिश्रमिक सम्बन्धित समयमा नै भुक्तानी गरिसकिएको छ। उक्त गीतका लागि कार्कीसँग सहमति भएको पारिश्रमिकसमेत दिइसकेको दाबी गर्दै उनले त्यससम्बन्धी प्रमाण पनि सार्वजनिक गरेका छन्।

यस्तै, कार्कीले अन्तर्वार्तामा उल्लेख गरेको अर्को गीतका विषयमा पनि दुर्गेशले आफ्नो धारणा स्पष्ट पारेका छन्। उक्त गीत आफ्नो सिर्जना भए पनि चलचित्रका लागि तयार गरिएको भन्दै उनले त्यस परियोजनासँग सम्बन्धित निर्माण, व्यवस्थापन तथा भुक्तानीको जिम्मेवारी सम्बन्धित चलचित्र टिमकै हुने बताएका छन्।

‘कुनै पनि विषयलाई पूर्ण सन्दर्भ र यथार्थ नबुझी व्याख्या गर्दा गलत बुझाइ उत्पन्न हुन सक्छ,’ दुर्गेशले विज्ञप्तिमा भनेका छन्। आफ्नो सिर्जनात्मक संलग्नता र चलचित्र परियोजनासँग सम्बन्धित जिम्मेवारीबीचको भिन्नता स्पष्ट पार्नु आवश्यक ठानेर विज्ञप्ति जारी गरेको उनको भनाइ छ।

दुर्गेशले गायक कार्कीप्रति आफ्नो सम्मान हिजो पनि रहेको, आज पनि रहेको र आगामी दिनमा पनि कायम रहने बताएका छन्। कुनै विषयमा फरक बुझाइ वा धारणा उत्पन्न हुँदैमा कलाकारबीचको आपसी सम्मान र सांगीतिक सम्बन्ध कमजोर बनाउन नहुने उनको धारणा छ।

उनले आफ्नो उद्देश्य कसैप्रति आरोप लगाउनु वा विवाद सिर्जना गर्नु नभई वास्तविक अवस्था स्पष्ट पार्नु रहेको उल्लेख गर्दै सञ्चारमाध्यम, संगीतकर्मी तथा शुभेच्छुकलाई प्रस्तुत तथ्यका आधारमा निष्पक्ष बुझाइ कायम गर्न अनुरोध गरेका छन्।

आनन्द कार्कीको सार्वजनिक अभिव्यक्ति र त्यसपछि दुर्गेशले दिएको स्पष्टीकरणसँगै दुई कलाकारबीचको पारिश्रमिकसम्बन्धी विषय चर्चामा आएको छ।