काठमाडौं । काठमाडौं हरर फिल्म फेस्ट (KHFF) को दोस्रो संस्करण सम्पन्न भएको छ। कात्तिक १३ गतेदेखि काठमाडौंस्थित रसियन हाउसमा सञ्चालन भएको महोत्सव आइतबार (कात्तिक १५) समापन चलचित्र प्रदर्शन तथा पुरस्कार वितरण समारोहसँगै सम्पन्न भएको हो।
मौसम प्रतिकूल भए पनि महोत्सवका तीनै दिन दर्शकको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ। नेपालसहित विश्वका विभिन्न देशका हरर तथा अन्य विधाका चलचित्र प्रदर्शन गरिएको महोत्सवमा दर्शकले उत्साहजनक सहभागिता जनाएका थिए।
महोत्सवमा दर्शकको मतका आधारमा उत्कृष्ट चलचित्र छनोट गरिएको थियो। १८ वटा छोटा चलचित्र प्रतिस्पर्धामा रहेकोमा आकाश धिमाल निर्देशित नेपाली चलचित्र ‘KNAR’ उत्कृष्ट छोटो चलचित्र घोषित भयो। त्यसैगरी, ६ वटा फिचर चलचित्रमध्ये नादिम ताबेत निर्देशित ‘In This Darkness I See You’ उत्कृष्ट फिचर चलचित्र घोषित भएको छ। फ्रान्स, लेबनान, कतार र साउदी अरेबियाको संयुक्त निर्माण रहेको उक्त चलचित्रले दर्शकको सर्वाधिक मत प्राप्त गरेको हो।
यस वर्ष पहिलोपटक प्रत्येक चलचित्र प्रदर्शनपछि मतपेटिकामार्फत दर्शकले दिएको मतका आधारमा विजेता छनोट गरिएको आयोजकले जनाएको छ।
महोत्सवको समापन मोराद मुस्तफा निर्देशित ‘Aisha Can’t Fly Away’ प्रदर्शनसँगै गरिएको थियो। इजिप्ट, फ्रान्स, जर्मनी, साउदी अरेबिया र ट्युनिसियाको संयुक्त निर्माण रहेको १२० मिनेट लामो चलचित्रले कायरोको ऐन शम्स क्षेत्रमा बस्ने २६ वर्षीया अफ्रिकी आप्रवासी सेवाकर्मी आयशाको संघर्षको कथा प्रस्तुत गर्छ।
समापन समारोहमा प्रमुख अतिथिका रूपमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति ब्रजेश खनाल उपस्थित थिए। कार्यक्रममा नेपालस्थित रुसी संघीय दूतावासका मिनिस्टर काउन्सेलर तथा उपनियोग प्रमुख रिनचेन राक्शायेभ, पूर्वमन्त्री गणेश शाह, रसियन हाउस काठमाडौंकी निर्देशक अनास्तासिया खोख्लोभा तथा नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठान (NFCA) का अध्यक्ष केपी पाठकको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले नेपालमा हरर तथा विधागत चलचित्रको प्रवर्द्धनका लागि महोत्सवले गरेको पहलको प्रशंसा गरे। त्यस्तै, राक्शायेभ र खोख्लोभाले चलचित्रमार्फत नेपाल र रुसबीच सांस्कृतिक आदानप्रदानलाई थप सुदृढ बनाउने धारणा व्यक्त गरे। समारोहमा महोत्सवका स्वयंसेवक तथा सहयोगीहरूलाई योगदानको कदर गर्दै प्रशंसापत्रसमेत प्रदान गरिएको थियो।
सन् २०२५ मा पहिलो संस्करण आयोजना गरेको महोत्सवको दोस्रो संस्करणमा यसपटक २१ देशका २६ चलचित्र छनोट भएका थिए। जसमा ८ वटा फिचर र १८ वटा छोटा चलचित्र थिए। छनोट भएका चलचित्रमध्ये पाँचवटा नेपाली निर्माण वा सहनिर्माणका थिए। तीमध्ये नेपाल र अस्ट्रेलियाको सहकार्यमा बनेको फिचर चलचित्र ‘मोक्ष’ पनि समावेश थियो।
महोत्सवको उद्घाटन समारोहमा जापान, ब्राजिल, पाकिस्तान, फ्रान्स र रुसका कूटनीतिक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
महोत्सव निर्देशक राशिक पाठकले दोस्रो संस्करणले नेपाली दर्शकमा हरर तथा विधागत चलचित्रप्रति रुचि रहेको प्रमाणित गरेको बताए। यस्ता चलचित्रले लोककथा, समाज र पहिचानजस्ता विषयलाई प्रस्तुत गर्ने सशक्त माध्यम प्रदान गर्ने उनको भनाइ थियो। उनले आगामी दिनमा पनि हरर तथा विधागत कथावाचनमा काम गर्ने नेपाली फिल्मकर्मीलाई अवसर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठान (NFCA) को आयोजनामा सम्पन्न महोत्सवमा रसियन हाउस काठमाडौं स्थल साझेदार, सिनेमेकर्स सहयोगी साझेदार तथा आईएमई खल्ती टिकटिङ साझेदारका रूपमा रहेका थिए।




१७ कार्तिक २०८३, सोमबार ११:४५ 








