काठमाडौं । अभिनेत्री दीपाश्री निरौला चलचित्र ‘पाँच पाण्डव’मा फरक र दमदार भूमिकामा देखिने भएकी छन्। चलचित्रमा उनले आफूलाई ‘फाइटर लेडी’का रूपमा प्रस्तुत गरेको बताएकी छन्।
दीपाश्रीले चलचित्रमा भीम (जितु नेपाल) की श्रीमतीको भूमिका निर्वाह गरेकी छन्। उनको चरित्रको नाम ‘सितर्नी’ हो। मजदुरमाथि अन्याय हुँदा प्रतिकारमा उत्रिने र श्रीमान्को सुरक्षाका लागि समेत लड्ने जुझारु महिलाको भूमिकामा आफू रहेको उनले बताएकी छन्।
आफ्नो प्रवेशका दृश्यहरू निकै धमाकेदार रहेको भन्दै उनले दर्शकबाट सिठी, ताली र हुटिङ पाउने विश्वास व्यक्त गरेकी छन्। यसअघि निर्वाह गरेका भूमिकाभन्दा फरक भएकाले ‘पाँच पाण्डव’ आफ्नो करियरका लागि नयाँ अनुभव भएको पनि उनको भनाइ छ।

बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र यही कात्तिक २० गतेदेखि प्रदर्शनमा आउँदैछ। चलचित्रमा दीपाश्रीसँगै हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, विनोद न्यौपाने, सुशील सिटौला र इभा गिरीलगायत कलाकारको अभिनय छ।
काली रानी फिल्मस्को ब्यानरमा निर्मित चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्मातामा काली रानी श्रेष्ठ रहेकी छन्। सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र विम्बमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ।




१७ कार्तिक २०८३, सोमबार ११:५२ 








