अब जहाँबाट पनि ‘सिक्किम आइडल’मा सहभागी हुन पाइने, बन्यो इन्टरनेशनल

...

काठमाडौं । गायन रियालिटी शो ‘सिक्किम आइडल’ यसपटकदेखि अन्तर्राष्ट्रिय बनेको छ । तेस्रो सिजनबाट शोमा सिक्किमबाहिर रहेका प्रतिभाले पनि सहभागिता जनाउन पाउने भएका छन् ।

यसअघि सिक्किमभित्रका प्रतिभालाई मात्र सहभागी गराउँदै आएको शोले तेस्रो सिजनदेखि सहभागिताको दायरा फराकिलो बनाएको हो । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजक टिमले ‘सिक्किम आइडल’लाई ‘सिक्किम आइडल इन्टरनेशनल’का रूपमा विस्तार गरिएको जानकारी दिएको हो ।

अब १५ वर्ष उमेर पूरा भएका जुनसुकै स्थानमा रहेका प्रतिभाले प्रतियोगितामा सहभागी हुन सक्नेछन् । आयोजकका अनुसार सिक्किमका मुख्यमन्त्रीले पनि सिक्किम आइडललाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउनुपर्ने धारणा राख्दै यस अभियानमा साथ दिएका छन् ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले सुरुमा डिजिटल अडिसन दिनुपर्नेछ । त्यसका लागि आयोजकले उपलब्ध गराएको फोन नम्बर वा इमेल ठेगानामा आफ्नो गायनको छोटो भिडियो पठाउनुपर्नेछ । डिजिटल अडिसनबाट छनोट भएकाहरूले फिजिकल अडिसनमा सहभागी हुने अवसर पाउनेछन् ।

अडिसनसम्बन्धी थप जानकारीका लागि बार्ता टेलिभिजनको आधिकारिक फेसबुक पेज हेर्न सकिने आयोजकले जनाएको छ ।