काठमाडौं । हास्य प्रधान चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रममा शनिबार एउटा अनौठो दृश्य देखियो । कार्यक्रम चलिरहेको थियो । करिब एक घण्टा लामो कार्यक्रमको अन्त्यतिर सञ्चालक चलचित्र पत्रकार गोपिकृष्ण चापागाईंले सञ्चारकर्मीलाई अन्तिम प्रश्नका लागि आग्रह गरिरहेका थिए । एक पत्रकारले प्रश्न सोध्दै गर्दा अचानक चार–पाँच जना प्रहरी हलभित्र प्रवेश गरे ।
प्रहरीलाई देखेपछि हलमा उपस्थित सबै आश्चर्यमा परे । प्रहरीले कार्यक्रम रोक्न भन्दै निर्देशक बिक्की अग्रवाल र अभिनेत्री गौरी मल्लसहित कलाकार मनोज गजुरेल, शिशिर वाङ्देललगायतलाई हातमा समातेर बाहिर निस्कन निर्देशन दिए । त्यसपछि प्रहरीले कलाकारहरूलाई हलबाट तल झारेर बाहिर राखिएको प्रहरी भ्यानमा राख्दै लगे ।
एकाएक भएको यो घटनाले कार्यक्रममा उपस्थित सञ्चारकर्मी मात्रै होइन, बाहिर रहेका सर्वसाधारणसमेत अचम्ममा परे । आखिर ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकारलाई प्रहरीले किन पक्राउ गर्यो ? सामाजिक सञ्जालमा समेत प्रहरी आएर कलाकारलाई समातेर लगेको भन्दै विभिन्न चर्चा हुन थाले ।
तर, यो वास्तविक पक्राउ भने थिएन । चलचित्र ‘ककाकिकी’को प्रचार रणनीतिअन्तर्गत निर्माण गरिएको एउटा दृश्य थियो । चलचित्रको कथामा पनि पात्रहरूलाई प्रहरीले यसरी नै नियन्त्रणमा लिएर लैजाने दृश्य रहेको छ । सोही दृश्यलाई ट्रेलर सार्वजनिक कार्यक्रममै जीवन्त बनाउँदै निर्माण टिमले चलचित्रको प्रचार गरेको हो ।
चलचित्रको कथासँग जोडिएको उक्त दृश्यलाई वास्तविक घटनाजस्तै देखाएर दर्शक तथा सञ्चारकर्मीको ध्यान आकर्षित गर्ने निर्माण टिमको योजना थियो । त्यसैले प्रहरीले कलाकारलाई नियन्त्रणमा लिएको दृश्यलाई चलचित्रको प्रचारात्मक प्रस्तुतिका रूपमा बुझ्नुपर्ने हुन्छ ।
अहिले सामाजिक सञ्जालमा ‘ककाकिकी’को ट्रेलर रिलिज कार्यक्रममा प्रहरीले कलाकारलाई पक्राउ गरेर लगेको भन्दै चर्चा भइरहेका बेला यो वास्तविक प्रहरी कारबाही नभई चलचित्रको कथामा आधारित प्रचारात्मक दृश्य मात्रै भएको निर्माण टिमले स्पष्ट पारेको छ । चलचित्र ‘ककाकिकी’ मंसिर ११ गतेदेखि प्रदर्शनमा आउँदैछ ।




२९ कार्तिक २०८३, शनिबार १४:२० 








