काठमाडौँ । लोकप्रिय हास्य सिरिज ‘सक्किगोनी’को चौथो सिजन आउने भएपछि दर्शकमा खुसी छाएको छ । लामो समयदेखि प्रतीक्षामा रहेका दर्शकका लागि यो खबर उत्साहजनक बनेको छ । सिरिजका लेखक तथा निर्देशक अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) चलचित्र निर्देशनको अनुभवपछि पुनः सिरिजमै फर्किएसँगै दर्शकले उनीहरूको निर्णयको प्रशंसा गरिरहेका छन् ।
तर, चौथो सिजन कहिलेदेखि प्रसारणमा आउँछ र यसअघिका सबै कलाकारलाई समेटिन्छ कि समेटिँदैन भन्ने विषयमा निर्माण टिमले अहिलेसम्म स्पष्ट जानकारी दिएको छैन । यसैबीच, दर्शकले अत्यधिक रुचाएको पात्र बले अर्थात् कलाकार सागर लम्साल भने नयाँ सिजनमा नहुने हुन् कि भन्ने आशंका बढेको छ ।
‘सक्किगोनी’को चौथो सिजन घोषणा गरिएको पोस्टर अधिकांश कलाकारले आफ्नो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् । अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री), हरिश निरौला (कक्रोज), कमलमणि नेपाललगायतका कलाकारले पोस्टर सेयर गर्दै नयाँ सिजनप्रति उत्साह देखाएका छन् । तर, सागर लम्सालले भने अहिलेसम्म उक्त पोस्टर सेयर गरेका छैनन् ।
सागरको यही मौनताले दर्शकमाझ उनी चौथो सिजनमा सहभागी नहुने हुन् कि भन्ने प्रश्न उठाएको छ । यद्यपि, उनले पोस्टर सेयर नगर्नुको कारण र नयाँ सिजनमा उनको सहभागिताबारे कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन ।
‘सक्किगोनी’का हरेक पात्र दर्शकमाझ लोकप्रिय छन् । विशेषगरी बलेको भूमिकाले सागर लम्साललाई दर्शकमाझ छुट्टै पहिचान दिलाएको छ । त्यसैले पनि चौथो सिजनमा बले देखिनेछन् कि छैनन् भन्ने विषय अहिले दर्शकको चासो बनेको छ ।




८ मंसिर २०८३, सोमबार ०९:०८ 








