आर्टिष्ट खबर, कात्तिक, काठमाडौं ।

गायक अर्जुन सुनामले एकल साँझ आयोजना गर्ने भएका छन् । बिगत १६ बर्षदेखी गीतसंगीतको क्षेत्रमा लागिरहेका सुनामले सत्यवती मिडिया फिल्मस्को आयोजनामा ‘अर्जुन सुनाम सुमधुर साँझ २०७५’ नामक कार्यक्रममा आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने भएका हुन् ।

आउँदो मंसिर ८ गते राजधानीको जमलस्थित राष्ट्रिय नाँचघर जमलमा आयोजना हुने यस सुमधुर साँझमा सुनामसँग अन्य आठ जना भन्दा बढी गायक तथा गायिकाहरुले पनि साथ दिनेछन् । बिहिबार राजधानीको पुतलीसडकस्थित हेलो क्याफेमा आयोजीत पत्रकार सम्मेलनमा सुनामले कार्यक्रमको बारेमा बिस्तृत जानकारी दिए । आयोजक सत्यवती मिडियाका अध्यक्ष बुद्धिराम खड्काले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै भने, ‘डेढ दशक देखी निरन्तर गीतसंगीतमा लाग्नुभएको अर्जुन जीले आफूले एकल साँझ गर्न आट्नुभएको थिएन, हामी केहिसाथीहरुले सबैकुरा ब्यवस्थापन गछौं तपाई आट्नुस भनेका हौँ, किनकी गीतसंगीतमा यतिका समय लागेको मान्छे, थुप्रै चर्चित गीत दिइसकेको मान्छेले एकल साँझ गर्नुपर्छ भन्ने हाम्रो धारणा हो ।’

गायक सुनामले आफ्ना चर्चित गीतहरु दर्शक माझ प्रस्तुत गर्ने बताए । साथमा उनीसँगै संगीता राना प्रधान, बिबि अनुरागी, रीमा गुरुङ, शर्मिमा गुरुङ, टिका पुन, जुनु रिजाल, चन्दा विश्वकर्माको पनि प्रस्तुती रहने बताए । कार्यक्रममा सत्यवती कला केन्द्रको टिमले नृत्य पनि प्रस्तुत गर्नेछ । यस्तै सहयोगी कलाकारहरु सुनितामी परियार, प्रेम अर्याल, पुष्पा बोहरा, प्रनिल तामाङले पनि साथ दिनेछन् ।

कार्यक्रममा गायिका सुनिता दुलाल, नन्दा बस्यालले पनि आर्थिक सहयोग गर्ने घोषणा गरे । सुनिताले आफ्नो ब्यक्तिगत तर्फबाट ३० हजार रुपैंया र नन्दाले २५ हजार रुपैंया सहयोग गर्ने घोषणा गरिन् । सुनिता गायक सुनामको फ्यान पनि रहेको बताइन् । ‘म अर्जुन दाईको फ्यान पनि हुँ, उहाँले गाएका धेरे गीतहरु सुनेकी छु, निकै राम्रो लाग्छ, आज एकल साँझ गर्दैहुनुहुन्छ, मेरो तर्फबाट सहयोग रहनेछ’ सुनिताले भनिन् । यस्तै कार्यक्रममा दोहोरी साँझ ब्यावसाहि संघका अध्यक्ष तथा ‘नगरकोट दोहोरी साँझ’का सञ्चालक बिनोद श्रेष्ठले पनि सुनामका गीतहरुले धेरै दर्शक तथा स्रोता कमाएको बताए । सुनामले ‘नगरकोट दोहोरी साँझ’मा काम गर्दाको समयमा धेरै गीत सुन्न पाएको बताए । सुनामको उक्त एकल साँझबाट उठेको रकमको केहि प्रतिशत सिभिल अस्पतालमा ब्लड क्यान्सरको उपचार गराईरहेका २७ बर्षिय पुर्ण कुमार श्रेष्ठलाई प्रदान गरिने घोषणा गरिएको थियो ।

गायक सुनामका ‘सुर्खेतमा बुलबुले ताल, तिम्रै झल्को आउँछ, मेरी निरमाया’ लगायत दर्जनौं गीतहरु चर्चित छन् । पछिल्लो आठबर्ष मलेसियामा बसेर आएका सुनाम अहिले निरन्तर गीतसंगीतमै सक्रिए छन् । सुनाम अहिले पनि राजधानीको चाँदनी रोधी नाँचघरमा गीत गाउँदै आएका छन् ।

३० कार्तिक २०७५, शुक्रबार ०६:०२