आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

यो वर्षको ‘नारायणगोपाल युवा सङ्गीत पुरस्कार’ युवा गायक तथा सङ्गीतकार अजर जङ्गमलाई प्रदान गरिने भएको छ । पुरस्कार छनोट समितिका अध्यक्ष एवं वरिष्ठ गीतकार विश्व बल्लभको अध्यक्षतामा बसेको बैठकले जङ्गमलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको राष्ट्रिय युवा सेवा कोषका अध्यक्ष भीमबहादुर अधिकारीले बताए । सो पुरस्कारको राशि रु ४० हजार, स्वर्णपदक र प्रमाणपत्र रहेको छ । यस्तै ‘अरनिको युवा कला पुरस्कार’ यो वर्ष युवा कलाकारद्वय समुद्रमान श्रेष्ठ र सुन्दर लामालाई संयुक्तरूपमा प्रदान गरिने कोषले जनाएको छ । उक्त पुरस्कारको राशि संयुक्तरूपमा रु ५० हजार, स्वर्णपदक र प्रमाणपत्र रहेको छ ।

कोषद्वारा वि.सं २०४८ मा स्थापित ‘नारायण गोपाल युवा सङ्गीत पुरस्कार’ विविध साङ्गीतिक विधामा निरन्तर सक्रिय रहँदै सङ्गीत, गायनका कलात्मकता एवं सिर्जनशीलताको श्रीवृद्धिमा मुलुकको मौलिक, सांस्कृतिक प्रवृत्तिमा प्रतिबद्ध रही योगदान पुर्याउने ४० वर्ष ननाघेका युवा गायक तथा सङ्गीतकारलाई प्रदान गरिँदै आइएको छ । कोषले राष्ट्रिय विभूति अरनिकोको स्मृति एवं सम्मानको साथै कलाको संरक्षण र विकासमा प्रोत्साहन गर्न २०५७ सालमा ‘अरनिको युवा कला पुरस्कार’ स्थापना गरेको थियो ।

(रासस)