पत्रिकामा समवेदना देखेपछि बनेको चलचित्र ‘हुक्का’

...

जेठ, काठमाडौँ । चलचित्र  ‘हुक्काः एन एब्सर्ड ड्रिम’ आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा सन्तोषकुमार आत्रेयको प्रमुख भूमिकामा अभिनय छ । चलचित्रमा उनकै लेखन छ ।

उनले चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’को कथाको सुरुवातका बारेमा विस्तृत कुरा खुलाएका छन् । ‘धौली’को निर्माण र प्रदर्शनको लामो समयपछि निर्माता सन्तोषकुमार आत्रेय काठमाडौंमा अर्को फिल्म ‘बालै फरर’को प्री–प्रोडक्सनमा व्यस्त थिए । चलचित्र सुटिङमा जान तयार भइरहँदा उनले एकदिन कान्तिपुर दैनिकमा एक ४० वर्षे उद्योगपति र समाजसेवीको समवेदना विज्ञापन देखे ।

त्यो विज्ञापनले उनलाई यसरी ‘क्लिक’ गर्यो कि उनले एक महिनासम्म उनले त्यो कुरालाई दिमागमा राखे । ‘समवेदना नदेखेको भए चलचित्र बन्दैन थियो । ती उद्योगी र समाजसेवीको निधनपछि परिवारमा के भएको होला, परिवारको अवस्था कस्तो छ । यस्तै घटना अन्य परिवार तथा व्यक्तिमा कति परेको होला भन्ने विषयले मलाई छोइरहयो, अनि कथा लेखें’, सन्तोष भन्छन् ।

समवेदनाको कुरा उनले निर्देशक परिच्छेद सेन, निर्माता रविन्द्रसिंह बानियाँ, निर्माता प्रचण्डमान श्रेष्ठलाई सुनाए । सबैबाट चलचित्र बनाउनका लागि प्रोत्साहन पाइरहँदा प्री–प्रोडक्सनमा रहेको चलचित्र ‘बालै फरर’को काम रोकियो । चलचित्रको काम रोकिएपछि सन्तोष पोखरा आए ।

सन्तोषले एक महिनासम्म कथा लेखेनन्, उनले त्यो कथा सम्झिएर हिँडिरहे । उनले त्यसलाई कतै टिपेनन् । उनी पोखरा आएपछि मात्र ड्राफ्ट तयार पार्न लागे । उनलाई  चलचित्रको पहिलो र दोस्रो ड्राफ्ट ३ महिनामा र फाइनल ड्राफ्ट ५ महिनाको समय लाग्यो ।

‘पोखरा आएपछि मैले शम्भु थापालाई चलचित्रको पहिलो ड्राफट सुनाएँ । त्यसपछि नेत्र गुरुङ, शम्भु थापा र म बस्यौं । सातौं ड्राफ्ट बनाएपछि नीर शाह र तेज गिरीलाई दियौं । उहाँहरुले पनि राम्रो सुझाव दिनु भएपछि हामी फिल्म बनाउने निश्कर्षमा पुग्यौं’, सन्तोष सम्झन्छन् ।

सन्तोष चलचित्रका केही दृश्य समाजका वास्तविक दृश्य रहेको दाबी गर्छन् । ‘श्रीमान विदेश गएपछि श्रीमतिले भोग्ने पीडा हामीले समाजमा फरक रुपमा देखेका छौं । त्यही फरकपनको केही पाटो यो फिल्ममा छ’सन्तोष भन्छन् । उनको बुझाईमा चलचित्रले पढेलेखेका व्यक्तिहरुले नै समाजलाई बुझ्न नसकेको कथालाई पनि छोएको छ । 

‘उनीहरुले समाजलाई अत्यन्त सतही र समाजको आर्थिक व्यवस्थालाई पनि निरिक्षण गर्छन् । श्रमिकहरुले पैसाको महत्वलाई बुझ्दैनन् । यी कुरालाई पनि चलचित्रमा उठान गरिएको छ’, सन्तोषको बुझाई छ ।

चलचित्रमा सन्तोषले नै अभिनय गरेका छन् । उनले स्क्रिप्ट लेखिरहँदा त्यो चरित्रमा आफूले नै अभिनय गर्छु भन्ने सोचेका थिएनन् । अवस्था त्यस्तै बन्यो । उनले आफूले चिनेको एक कलाकारलाई पनि प्रस्ताव नगरेका होइनन् । तर फिल्मकै सदस्यहरुले सन्तोषलाई नै हौसला दिएपछि उनी पछि परेनन् । सन्तोषले २०५२ सालमा हाल दिवंगत निर्देशक प्रताप सुब्बाबाट अभिनय सिकेका थिए ।