गीत र कवितामार्फत विचार र भावना दर्शाउने अनिता खड्का

...

काठमाडौँ । नेपाली गीतसंगीत तथा कविताको क्षेत्रमा छुट्टै पहिचान बनाएकी अनिता खड्काले गीत र कवितालाई सँगै अगाडी बढाएकी छिन् । कविता र गीत लेख्दा उनले केहि फरक अनुभूति गर्ने बताउँछिन् । आफ्ना सिर्जनामा भावनालाई समेट्ने हो र शब्दले सिंगार्ने बताउने उनी शब्दको छनोट गर्दा गीतमा अलिकति छन्द मिलाउनुपर्ने र कविता लेख्दा सजिलो हुने बताउँछिन् ।

‘गीत कोर्दा विचार पु¥याउनुपर्छ भने कविता कोर्दा भावनाका सबै रूपहरू दर्शाउन पाइन्छ’, उनले भनेकी छिन् । आफ्ना सिर्जना विशेष गीत चाहिँ सबैका लागि र आफूले चिनेजानेकाको भावना टिपेर वर्णन गर्ने कोसिस गर्ने बताउने उनी कविता देश, प्रकृति, राजनीति, सामाजिक, समसामयिक घटनालाई छोएर लेख्ने गरेको बताउँछिन् । ‘मन छोयो कि टिप्न खोज्छु । कहिले त कफी शपमा बसेर न्याप्किनमा लेख्छु । कति त टिप्न नपाउँदै मस्तिष्कमै हराउँछन्’, उनले भनेकी छिन् ।

बुढानीलकण्ठ नगरपालिका–९ मा बसोबास गर्दै आएकी खड्काले विसं. २०४० देखि आफ्ना सिर्जनाले आकार लिन थालेको बताउँछिन् । उनको औपचारिक रूपमा पहिलो सिर्जना ‘नदुखेको मन जानीजानी किन दुखाएछु’ गीत रहेको थियो । जसमा पछि वरिष्ठ संगीत निर्देशक राजु सिंहले संगीत भरे भने दीपक बज्राचार्यको स्वरमा श्रोता र दर्शकमाझ आयो ।
anita khadka
उनको हालसम्म ‘शब्द स्थापत्य’, ‘भाव अनुष्ठान’, ‘मेरो रोइरहेको सगरमाथा’, ‘स्वरका आयाम’, ‘समयको आरोहण’ र ‘अस्मिताका स्वर’ जस्ता कृति पाठकमाझ आएका छन् । केही नयाँ कृति पाठकमाझ ल्याउने तयारीमा पनि रहेकी अनिता ६ वटा गीत र कविता संग्रह एवम् दुईवटा एल्बम टाइमलेस र झुमि झुमि सार्वजनिक भएका छन् । उनका कर्महरूलाई श्रीमान् डा. रूप खड्का, छोरा डा. उत्सव र छोरी उपासनालगायतले साथ दिएका छन् ।

जीवन सम्बन्धि बुझाई के छ भन्ने प्रश्नमा यसो भन्छिन् अनिता, ‘केही अलौकिक पलको आनन्दको अनुभूतिको पछि लाग्दालाग्दै सिद्धिने म्याराथन हो । जीवन अनुशासित भई पालना गर्दा सरल छ भने जटिल बनाउँदा जटिल नै छ । सुख क्षणिक छ, दुःख सधैँ साथमा हुन्छ । जन्मिने हुर्किने अनि विलिन हुने हो तथ्य । तर, यो बुझ्न नसक्दा ब्ल्याकहोल बन्न सक्छ जीवन । यो सत्यता नबुझ्दा हामी सधैँ केही न केहीको खोजीमा हुन्छौँ । भविष्यको सुन्दर सपनाका लागि वर्तमान जलिरहेको जस्तो लाग्छ । ’

अनिताले अरु कसैको आत्मकथा लेख्ने सोँच बनाएको बताउँछिन् । साथै उनले कविता र गीतको संग्रहको पनि तयारी गरिरहेकी छिन् । अबका दिनमा आफू निरन्तर सिर्जनामा लागिरहने उनी बताउँछिन् ।