
काठमाडौँ । स्रष्टा डा.आशबहादुर तामाङको कृति ‘सिपाहीको कलमबाट’ अंक २ को परिचर्चा गरिएको छ । काठमाडौंमा एक विशेष कार्यक्रमबीच गीतकार संघ नेपालको आयोजनामा उक्त कृतिको परिचर्चा गरिएको हो । संघका अध्यक्ष वसन्त वित्यासी थापाको सभापतित्वमा भएको कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिष्ठित गीतकार एसपी कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । संघकै सभाहलमा भएको ‘श्रष्टा र सिर्जना–चर्चा र परिचर्चा’ कार्यक्रममा साहित्यकार उपरथी आशबहादुर तामाङ (पिएचडी)को कविता, गीत-गजल, लेखको संग्रह ‘सिपाहीको कलमबाट अंक २’ माथि गीतसंगीत एवं साहित्य क्षेत्रका प्राज्ञिक व्यक्तित्वले चर्चा तथा परिचर्चा गरिएको थियो ।
स्रष्टा डा.तामाङको बारेमा बोल्दै कवि गीतकार आनन्द अधिकारीले उहाँको पारिवारिक तथा कला साहित्यको बारेमा विचार व्यक्त गर्नुभएको थियो । स्रष्टा तामाङका बुबा चन्द्रबहादुर तामाङ र माता धनमाया तामाङ लमजुङ जिल्लाका ठाडो भाकाका गायक तथा गायिका भएको हुँदा त्यसको निरन्तरतामा सांगीतिक घराना बन्नेतर्फ उहाँ लाग्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना दिनुभएको थियो । गीतकार अधिकारीले स्रष्टा तामाङको पारिवारिक पृष्ठभूमि नै संगीतमय भएको र सँगसँगै सुरक्षा सेवामा रहँदा पनि सिर्जनाको उभार आएको बताउँदै साहसी सिपाही र सिर्जनाका धनी भएको बताउनुभयो ।
त्यसैगरी संस्कृतविद् बुलु मुकारुङले स्रष्टा आशबहादुर तामाङद्वारा लेखिएका कविता, गीत र गजल सिर्जनाको बारेमा बोल्दै बहुप्रतिभाशाली व्यक्तित्व भएको बताउनुभएको थियो । मुकारुङले तामाङको भूगोल, पारिवारिक पृष्ठभूमि र सुरक्षा क्षेत्रमा रहँदा गरिएका सिर्जनाले राष्ट्रभक्त निडर सिपाहीमात्र नभएर बहुप्रतिभाशाली सर्जक भएको बताउनुभएको थियो । त्यसैगरी डा.आशबहादुर तामाङका लेख रचनाखण्डका बारेमा बोल्दै प्राडा.रवीन्द्र खनालले आफ्नो विद्यार्थीको प्रगतिले मनमा खुशी छाएको सुनाउनुभयो । अमेरिकी शान्ति सेनामा जाँदाको विषयलाई लिएर पिएचडी गरेका तामाङलाई अध्यापन गराउँदाताकादेखि उहाँको जीवनीको सम्पूर्ण पाटोहरू केलाउँदा लेख रचनाभित्र पनि राष्ट्रप्रेम, देशप्रेम, साहसी सिपाहीको गुणगानदेखि साहित्य, कला, संस्कृतिको पाटोलाई समेत नजिकबाट बुझेको व्यक्तिका रूपमा डा.आशबहादुर तामाङलाई पाएको बताउनुभएको थियो ।
त्यस्तै डा.आशबहादुर तामाङकी आमा धनमायासँग सांगीतिक सहकार्य गर्नुभएको वरिष्ठ गायक, निर्देशक, संगीतकार नारायण रायमाझीले शुभकामना मन्तव्य दिनुभएको थियो । पारिवारिक संगत र डा.आशबहादुर तामाङको सिर्जनशील चेतलाई नजिकबाट नियालेको बताउँदै सिंगो प्रतिभाको खानी भएको जिकिर गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि तथा गीतकार एसपी कोइरालाले डा.आशबहादुर तामाङ विशिष्ठ श्रेणीका सर्जक भएको बताउँदै सिपाहीका रूपमा मात्र वाङ्मयको सिंगो भण्डार भएको बताउनुभएको थियो । उहाँको सांगीतिक चेत, काव्यिक चेतसँग देशअनुसार परिवेशलाई छर्लंग पारिएको समेत प्रमुख अतिथि कोइरालाको भनाइ थियो ।
कार्यक्रमलाई संघका उपाध्यक्ष रमेश कोइरालाले स्वागतमन्तव्यद्वारा अतिथिहरूलाई स्वागत गर्नुभएको थियो भने गीतकार तथा सञ्चारकर्मी सुमन बैरागीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिलाई संघका कोषाध्यक्ष चेतन खतिवडा र कार्यालय सचिव मेरी मग्रातीले खादाद्वारा स्वागत गर्नुभएको थियो । कार्यक्रमलाई समापन गर्दै गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापाले स्रष्टा तामाङ सशक्त कवि, गीतकार र गायकका रूपमा परिचय स्थापित गर्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना दिनुभएको थियो । उहाँको सिर्जना जति सशक्त छन् त्यति नै अबका दिनमा सशक्त सिर्जनाको कार्यमा लाग्नु प्रेरित हुनुपर्छ भन्दै अध्यक्ष थापाले बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकारका बारेमा पनि सबैलाई एकजुट भएर लाग्न अनुरोध गर्नुभएको थियो । कार्यक्रममा डा.आशबहादुर तामाङको रचनामा रहेको अडियो ‘गोर्खाली’ सार्वजनिक गरिएको थियो । यस गीतका संगीतकार अमूलकार्की ढली हुनुहुन्छ भने अयुमी तामाङ, एलिना विक र सुरज थापाको स्वर छ ।