फागुन, काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशभक्तिको भावनाबाट ओतप्रोत गीत–सङ्गीतले राष्ट्र र राष्ट्रियताप्रति अटल आस्था र विश्वास जगाउँदै जनतालाई एकताको सूत्रमा बाँध्न योगदान पु¥याउने बताएकी छिन् । सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको ९२ औँ स्मृति दिवसका अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार आयोजित नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान कार्यक्रममा उनले भनिन् – “राष्ट्रिय गीतको लयमा प्रस्फुटित गौरव गाथामा गरिएको संस्कृति र रीतिरिवाजको वर्णले समाजलाई एकताबद्ध बनाउँदै आएको छ ।’’

राष्ट्रपति भण्डारीले सर्जक राष्ट्रका अमूल्य निधि र सम्पत्ति भएको बताउँदै स्रष्टाको साधनाबाट सिर्जित गीत, सङ्गीत कलाकृति हाम्रा गौरव र धरोहर भएको धारणा व्यक्त गरीन् । सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाले नेपाली गीत–सङ्गीतलाई अन्तर्रा्ष्ट्रिय क्षेत्रमा पहिचान दिने काममा नातिकाजीको निकै ठूलो योगदान रहेको धारणा व्यक्त गरे ।

पुरस्कृत व्यक्तित्व गीतकार रमण घिमिरेले नातिकाजीले नेपाली लोकसङ्गीतको स्तरमाथि उठाउन अद्वितीय योगदान दिएको स्मरण गरे । अर्थविद् एवम साहित्यकार विश्वम्भर प्याकुरेलले नेपाली गीत–सङ्गीतका क्षेत्रमा नातिकाजी सुगम सङ्गीतका धरोहरका रुपमा रहेको बताए । नातिकाजी स्मृति समाजले आयोजना गरेको उक्त समारोहमा भजन शिरोमणि भक्तराज आचार्यलाई नातिकाजी विशिष्ट स्रष्टा सम्मान २०७३ बाट सम्मानित गरियो । उनलाई सम्मानसहित रु २० हजार एक नगद पुरस्कारसमेत प्रदान गरिएको थियो ।

सो अवसरमा नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान कल्याण रिमाल, उर्मिला श्रेष्ठ, दीपक खरेल, आनन्द कार्की, डा धु्रवेशचन्द्र रेग्मीलाई प्रदान गरियो । नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार रमण घिमिरे, रामकृष्ण ढकाल, देवीका बन्दना र टीका भण्डारीलाई सोही समारोहमा प्रदान गरियो । पुरस्कारको राशि जनही रु ११ हजार एक सय ११ रहेको छ ।

त्यसैगरी, नातिकाजी राष्ट्रिय सङ्गीत संयोजन पुरस्कार अमुल कार्की ढलीलाई तथा नातिकाजी राष्ट्रिय सङ्गीत प्रतिभा पुरस्कार आलोकश्रीलाई प्रदान गरियो । सोही अवसरमा नातिकाजी स्मृति समाज योगदान सम्मानबाट डा कल्याणराज शर्मा, चीरञ्जीवी थापा र डण्डपाणि कँडेल सम्मानित भए । विसं १९८२ पुस ३ गते ललितपुरको पुल्चोकमा जन्मिएका नातिकाजीको २०६० साल कात्तिक १६ गते चावहिलमा निधन भएको थियो । उनले साङ्गीतिक जीवन यात्रामा आधुनिक, लोक, राष्ट्रिय गीत र भजनसमेत गरी दुई हजारभन्दा बढी गीतमा सङ्गीत दिएका थिए ।