‘रोड टु एभरेस्ट’को टिजर र पोस्टर सार्वजनिक, सगरमाथासम्मको प्रेरणादायी यात्राको कथा

...

काठमाडौं । सगरमाथासम्मको जोखिमपूर्ण र प्रेरणादायी यात्रामा आधारित वृत्तचित्ररोड टु एभरेस्टको टिजर र पोस्टर सार्वजनिक गरिएको छ। ५० वर्ष नाघेका एक व्यक्तिले उमेर र आफ्नै शारीरिक सीमालाई चुनौती दिँदै विश्वको सर्वोच्च शिखरसम्म पुग्ने अठोटलाई वृत्तचित्रले प्रस्तुत गरेको छ।

५० मिनेट लामो वृत्तचित्रले सगरमाथाको प्राकृतिक सौन्दर्य मात्र नभई आरोहणका क्रममा सामना गर्नुपर्ने जोखिम, शेर्पा समुदायको योगदान तथा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावलाई पनि समेटेको छ। निर्माण पक्षका अनुसार वृत्तचित्रमा शतप्रतिशत नेपाली प्राविधिकको सहभागिता रहेको छ भने कुनै पनि कृत्रिम दृश्य (VFX वा AI) प्रयोग गरिएको छैन। समुद्री सतहबाट सगरमाथाको चुचुरोसम्मको सम्पूर्ण यात्रा समेटिएको यो पहिलो नेपाली वृत्तचित्र भएको दाबी पनि निर्माण पक्षको छ।

वि विल राइज फाउण्डेसनको निर्माणमा बनेको वृत्तचित्रलाई निर्मल श्रेष्ठले निर्देशन गरेका हुन्। दुई वर्षको अनुसन्धान र छायाङ्कनपछि तयार भएको वृत्तचित्रको कथा निर्मल श्रेष्ठ र सन्तोष आचार्यले संयुक्त रूपमा लेखेका छन्। वृत्तचित्रमा भुषण दाहालको भ्वाइसओभर रहेको छ।

वृत्तचित्रमा १८ पटक सगरमाथा आरोहण गरेका फुर्वा तेन्जिङ शेर्पा तथा विश्वका १४ वटै अग्ला हिमाल आरोहण गर्नुका साथै १० पटक सगरमाथा चढेका निमा ग्याल्जेन शेर्पाको अनुभव र संघर्ष प्रस्तुत गरिएको छ। साथै विनोद गुरुङ, सुरज गुरुङ र निर्देशक निर्मल श्रेष्ठ पनि वृत्तचित्रका महत्वपूर्ण पात्रका रूपमा देखिएका छन्।

नेपाली र अंग्रेजी दुवै भाषामा निर्माण गरिएकोरोड टु एभरेस्टले नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

वृत्तचित्रको नेपाल प्रिमियर भदौ ६ गते (२२ अगस्ट २०२६) काठमाडौंमा हुनेछ भने अन्तर्राष्ट्रिय प्रिमियर भदौ २८ गते (१३ सेप्टेम्बर २०२६) हङकङमा आयोजना गरिनेछ। त्यसपछि स्वदेश तथा विदेशका विभिन्न सिनेमा हल र अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ।

सार्वजनिक टिजर र पोस्टरले सगरमाथाको कठिन यात्रा, मानव साहस र अठोटको भावनात्मक झलक प्रस्तुत गर्दै वृत्तचित्रप्रति दर्शकको उत्सुकता बढाएको छ।