काठमाडौं । चलचित्र ‘ककाकिकी’को प्रदर्शन मिति परिवर्तन भएको छ । यसअघि भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र अब मंसिर ११ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने भएको हो ।

निर्माण कम्पनी माया इन्टरटेनमेन्ट स्टुडियो प्रालिले विज्ञप्ति जारी गर्दै देशमा आएको बाढीपहिरोलगायत प्राकृतिक विपत्तिका कारण चलचित्रको रिलिज तथा सम्पूर्ण प्रचारप्रसारका गतिविधि तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।
विज्ञप्तिमा विपत्तिका कारण जनधनको ठूलो क्षति भएको अवस्थामा मनोरञ्जनका कार्यक्रम सञ्चालन गर्ने अवस्था नरहेको उल्लेख गरिएको छ । निर्माण पक्षले विपत्तिमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा प्रभावितहरूको शीघ्र उद्धार र पुनःस्थापनाको कामना गरेको छ ।
यससँगै निर्माण पक्षले ‘ककाकिकी’को नयाँ प्रदर्शन मिति २०८३ मंसिर ११ गतेका लागि तय गरिएको जानकारी दिएको छ । चलचित्रको प्रचारप्रसार तथा अन्य गतिविधि नयाँ रिलिज मितिअनुसार अघि बढाइने जनाइएको छ ।
बिक्की अगरवालको निर्देशनमा बनेको चलचित्रमा रेखा थापा, गौरी मल्ल, तृप्ति नाडकर, महेश त्रिपाठी, प्रकाश घिमिरे, खड्गबहादुर पुनमगरलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको शीर्ष गीत ‘ककाकिकी’ यसअघि नै सार्वजनिक भइसकेको छ ।






१३ भाद्र २०८३, शनिबार १३:५३ 









