
<pre><b>जेठ, काठमाडौं।</b></pre><p>चलचित्र 'पशुपतिप्रसाद'को सफलता पछि दर्शकहरुमाझ चर्चित बनेका निर्देशक दिपेन्द्र के खनाल यतिवेला फेरि आफ्नो नयाँ चलचित्र 'धनपति' लिएर दर्शकमाझ आएका छन्। नेपालको राजनीतिक अवस्थालाई उजागर गर्न खोजिएको चलचित्रमा मुख्य पात्र अभिनेता खगेन्द्र लामिछाने कसरी आफ्नो परिवारको खुसीका लागि राजनीतिमा होमिन पुग्छन भन्ने तितो यथार्थलाई देखाउन खोजिएको छ। </p><p>चलचित्रको छायांकन समेत आफै गरेका दिपेन्द्रले चलचित्रमा बन्दको सिन खिच्नका लागि निकैनै समस्या परेको बताएका छन्। धेरैजसो बन्द भइरहने हुनाले सुटिङ चल्दै गर्दा कुनै दलले बन्द गर्ला भन्ने भएपनि वास्तवमा बन्द नभएका कारण आफैँले बन्दै नभएको ठाउँमा प्रहरी प्रशासन संग अनुमति लिएर बन्द गराएर चलचित्र खिच्न परेको उनले बताए। </p><p>त्यस्तै उनले सुटिङको क्रममा नै पब्लिक बाट लखेटिएर क्यामेरा लिएर भाग्न परेको पनि बताएका छन्। चलचित्रको एक सिनका लागि ‘बुद्धनगर सडकखण्डमा ट्याक्सी जलाउने क्रममा माहोल निकैनै तनावपुर्ण भएको र त्यहाँका सर्वसाधारणको घुईँचो बढ्न थालेपछि फुटेजहरु बचाउनका लागि आफु क्यामेरा लिएरै भाग्न परेको उनी बताउँछन्। चलचित्रमा २४ वटा बन्दका सिन हरु राखिएको छ। काठमाडौंका व्यस्त सडकहरुमा बन्दको माहोल बनाउन आफुलाई निकै कठिन भएको दिपेन्द्र बताउँछन्। </p><p>चलचित्रमा खगेन्द्रको साथमा सुरक्षा पन्त,मनिष निरौला,अशन्त शर्मा, सुरवि बर्तौला,हरिहर शर्मा,रवि गिरी,कमल देवकोटा,प्रकाश घिमिरे लगायतको अभिनय रहेको छ।रोजिना सिटौलाको निर्माणमा बनेको यस चलचित्र असार २३ गते बाट प्रर्दशनमा आउने बताइएको छ। </p>