असार, काठमाडौं

पछिल्लो समय निकैनै प्रतिक्षित बनेको चलचित्र प्रेमगीत २ यतिवेला प्रचारप्रसारको क्रममा रहेको छ। यसै क्रममा चलचित्रले देशका एघार शहरहरुमा सांगीतिक यात्रा सम्पन्न गरेको छ। दमौली फुटबल मैदान, पोखरा चिप्लेढुंगा, नेपालगंज, बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, दमक, धरान, इटहरी हुँदै बिर्तामोडमा चलचित्रका कलाकर्मी तथा निर्माण पक्षले प्रस्तुति दिइसकेका छन् भने अब काठमाडौं, ललितपुर र भक्तपुरमा प्रेमगीत गुञ्जाउन कलाकारहरु तयार छन् ।

‘हामी कन्सर्टमार्फत वास्तविक दर्शकसामु पुग्न चाहन्थ्यौं’ राजधानी फिर्न सुरसार कसेका निर्माता एवं डेब्यु अभिनेता सन्तोष सेन भन्छन्, ‘एघार सहरमा हामीले एउटै मन पायौं दर्शकको । दर्शक प्रेमगीत २बाट स्तरिय मनोरन्जन चाहन्छन् ।’

यौ दौडाहामा प्रदीप खड्का र अश्लेषा ठकुरीसँग कैयौं दर्शकहरुले सेल्फी खिच्ने मौका पाएका थिए। प्रदीपले सुनाए, ‘फिल्मलाई लिएर दर्शकहरुभित्रको हुटहुटी फिल गरेँ । यसले ममा थप दायित्वको समेत बोध गराएको छ ।’

अश्लेषा ठकुरीलाई मोफसलको मायाले निकै बाँध्यो । ‘वास्तवमा दर्शकप्रति आभारी छु । मेरा लागि यो जान्ने, सिक्ने र समाज पढ्ने मौका पनि थियो’ डेब्यु गर्लले भनिन् । फिल्मभित्र उनी एक बर्मेली युवतीको भूमिकामा प्रस्तुत भएकी छन् ।

साउन १३ गते रिलिज हुने सिनेमालाई रामशरण पाठकले निर्देशन गरेका हुन् । यसका साथै चलचित्रले राखेको कभर गीतप्रतियोगिताको पनि म्याद बढाएको छ। असार २० गतेसम्म भाग लिने मौका दिइएको थियो । अब इच्छुक प्रतियोगीले २७ गतेसम्म गीत बुझाउने मौका प्राप्त गरेका छन् ।