भदौ, काठमाडौं।

निरन्तरको बर्षाका कारण बाढीले पिडित बनेका तराई बासीहरुलाई राहत बितरण गर्न र पिडितहरुको उद्धारका लागि तराई झरेका नेपालका चर्चित हाँस्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल‘धुर्मुस’ को पहलमा धुर्मुस सुन्तली फाउण्डेशनको टोलिले आज सप्तरीका बिभिन्न छ वटा सरकारी बिद्यालयमा अध्ययन गरिरहेका बालबालिकाहरुका लागि शैक्षिक सामाग्री बितरण गरेको छ । फाउण्डेशनले बाढीले शैक्षिक सामाग्री, बिद्यालयका पोशाक समेत बगाएर पिडित बनेका १ हजार बालबालिकाहरुका लागि उक्त सामाग्री बितरण गरेको हो ।

राहत बितरणमा धुर्मुसले भयमुक्त र सुरक्षित रहनको लागि सबैलाई मनोरञ्जन प्रदान गदैं उक्त सामाग्री बितरण गरे । ‘बालबालिका भविष्यका कर्णधार हुन्’ भावुक मुद्रामा धुर्मुसले भने ‘उनिहरुलाई हेरबिचार गर्न, सुरक्षित राख्न र शिक्षा दिक्षामा सबैले ध्यान दिन जरुरी छ त्यसैले हामीले बिद्यालयमा शैक्षिक बातावरण तयार होस भन्नका लागि यसखाले शैक्षिक सामाग्री बितरण गरेका हौं ।’

धुर्मुस सुन्तली फाउण्डेशनले सप्तरीमा रहेको आधारभुत बिद्यालय, रमपुरामल्हनियाँ, सप्तरी, रामराजानकी राष्ट्रिय प्राथमिक बिद्यालय, दलवा रमपुरामल्हनियाँ, राष्ट्रिय प्राथमिक बिद्यालय, रमपुरामल्हनियाँ, लिल्जा ठाकुर प्राथमिक बिद्यालय, हनुमान नगर, आधारभुत बिद्यालय, गोवरगाढा र राष्ट्रिय प्राथमिक बिद्यालय, हनुमाननगर गरि ६ वटा सरकारी बिद्यालयमा अध्ययन गर्ने १ हजार बालबालिकाहरुका लागि शैक्षिक सामाग्री बितरण गरेको हो । फाउण्डेशनले बितरण गरेको उक्त सामाग्रीमा झोला, १ दर्जन कापी, १ दर्जन सिसा कलम, १ दर्जन पेन, टिफिन बक्सा, ज्योमेट्रि बक्स, पानि पिउने बोतल सहितको प्याकेज समावेश छन् ।

यसअघि पनि फाउण्डेशनले बाढीले डुवानमा परेर घरबार बिहिन हुन पुगेका तराईका बासिन्दाहरुका लागि बिभिन्न राहतका प्याकेज बितरण गरेको थियो । अहिलेसम्म फाउण्डेशनले तराईका २३ स्थानमा राहत बितरण गरिसकेको छ । फाउण्डेशनले बर्दिवास, धनुषा, सिन्धुली, सिरहा, सप्तरी, सुनसरी, मोरङ्, झापा, सर्लाही, रौतहट, बारा लगायतका स्थानमा खाध्यान्न, लत्ताकपडा तथा औषधी बितरण गरेको हो । धुर्मुसले आफै खटेर १२ जिल्लाका २३ ठाउँमा झण्डै ४५ लाख बरावरको राहत सामाग्री बितरण गरिसकिएको जानकारी दिएका छन् । धुर्मुसले अब आफ्नो अभियान राहतका संगसंगैं स्वास्थ्य, शिक्षा, सरसफाई र पुर्नवासमा सहयोगी बन्ने रहेको बताएका छन् । बाढीका कारण धेरै स्थानका खानेपानीका पाईपहरु फुटेको, पिडितहरुले दुषित पानी पिउनुपर्ने अवस्था रहेको र जसका कारण झाडापखाला, रुघाखोकी जस्ता भाईरल रोग लाग्न सक्ने, सर्प र लामखुट्टेको टोकाई त्यहाँका बासीन्दाहरुको मुख्य समस्या भएको भन्दै अब उनिहरुको लागी अभियान चलाउने धुर्मुसको भनाई छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले बाढीका कारण अस्वस्थ बनेका पिडितहरुलाई अस्पतालमा भर्ना गरि उपचार समेत गराईरहेको छ । निरन्तर बर्षा भईरहेको समयदेखी अहिलेसम्म आफुनै राहत बितरणमा खटिरहेका धुर्मुस पिडितहरुको पिडा देखेपछि आफुलाई निकै भावुक बनाएको बताउँछन् । आजको राहत बितरण संगैं १६ दिनपछि धुर्मुस भोली काठमाण्डौं फर्किदैछन् । काठमाण्डौं फर्किएसंगैं धुर्मुस फाउण्डेशनको कार्यालयमा जम्मा भएको राहत सामाग्री बोकेर फेरी पनि तराई जानेछन् र फाउण्डेशनले निरन्तर राहत संकलन र बितरण गर्ने समेत बताईएको छ ।

यता फाउण्डेशनले भने राहत संकलन र बितरणमा तदारुकताका साथ पारदर्शी ढंगले काम गरिरहेको छ । फाउण्डेशनले बाढी पिडितहरुको लागि आएका आर्थिक तथा जिन्सी सामाग्रीहरुको विवरण निरन्तर फाउण्डेशनको फेसबुक पेजमा सार्बजनिक गरिरहेको छ ।