भदौ, काठमाडौं।

पछिल्लो समय कलाकर्मीहरुपनि सामाजिक संजाल मार्फत देशको अवस्था तथा राजनैतीक कुराहरुको बारेमा आफ्नो तर्कहरु दिन थालेका छन्। देशमा यतिवेला मन्त्रीमण्डल विस्तार को कुराले निकैनै चर्चा पाइरहेको छ। मानिसहरुले यसको विरोध गरिरहेका छन्।

तर हाँस्यकलाकार माग्ने बुढा (केदार घिमिरे)ले भने ६० जना मन्त्री हुदाँ धेरै कुरामा फाईदा हुने बताउदै प्रधामन्त्रीलाई चिठी लेखेका छन् । उनले फेसबुकमा स्टाटस राख्दै ६० जना मन्त्री हुँदा निकै फाइदा हुने भन्दै व्यंग्यात्मक शैलीमा प्रधानमन्त्रीलार्ई पत्र लेखेका हुन्।

पढ्नुहोस यस्तो छ माग्ने बुढाको प्रधानमन्त्रीलार्ई चिट्ठी:

सम्माननीय देउबा ज्यु, जय नेपाल ।

हजुरको हाल के छ ? यता सबै बेस छ ।

फेरि मन्त्रीमंडल बिस्तार हुने कुराले मन हर्षित भएको छ । ५० त पहिल्यै थिए , अब थप्दा ६० जति हुने रहेछ , अति उत्तम हजुर । एक थरि मान्छे बिरोधमा उफ्रिन थालिसके , उफ्रिदैमा कोहि ठुलो हुँदैन,त्यसरी ठुलो हुने भए जंगलको सबभन्दा ठुलो जनावर बाँदर हुन्थ्यो हजुर । ६० जना मन्त्री हुँदाका फाइदाहरु के के छन् ? सकारात्मक कोणबाट केलाउन जान्न पर्यो नि होइन हजुर । उफ्रिनेहरु हो ! यहाँ पढ, के के छन् फाइदा ।

१ , हाम्रो देशमा मन्त्रि बस्ने टोलमा बाटो पिच हुने र बत्ती नजाने प्रचलन छ , अब कम्तिमा ६० वटा टोल बिकशित हुने छ ।

२ , अरु बेला जाम भए पनि मन्त्रीको सबारीको बेला ट्राफिक प्रहरीले बाटो खोलिदिने प्रचलन छ , अब ६० जना मन्त्रि भएपछी सबै चोकमा कोहिन कोहि मन्त्रि भेटिन्छन ,यसले जाम खोल्न ठुलो सहयोग मिल्छ ।

३ , ६० जना मन्त्रि भएपछी ६० वटा त महंगा गाडी चाहियो , ति गाडी बेच्नेले नाफा पाए , तिनको आर्थिक उन्नात्ति भयो । बर्षेनी बिकाशमा खर्च हुने कति रकम फ्रिज भैरहेको छ, त्यो रकम गाडी किनेर सदुपयोग भयो ।

४ , अहिले सम्म आफ्नो मान्छे मन्त्रि नहुदा कतिलाई बिरक्त लागेको थियो होला , अब हेर्नोस ,कसैका ज्वाई मन्त्रि भए , कसैका भिनाजु मन्त्रि भए ,कसैका दिदि मन्त्रि भए परिवारमा कस्तो खुशी छायो , अब दशैंमा ससुराली जाँदा टक्क झण्डा सहितको गाडी घर अगाडी लगेर रोकेर टिका लगाउदा कस्तो मज्जा हुन्छ । पहिले नमस्कार गर्न नि गाह्रो मान्ने ससुराले मोजा सहितको खुट्टामा ढोग्दा कति रमाईलो हुन्छ।

५ ,बर्षौ देखि राजनीति गर्दा पनि आफ्ना कार्यकर्तालाई गतिलो ठेक्का पार्न नपाउदा कति पिडा थियो , अब बल्ल पिडामा मल्हम लगाउन पाइने भएको छ ।

६ , भद्रकालीमा झण्डा बेच्ने पसल छ , ६० वटा झण्डा एकै चोटी बिक्दा , त्यसबाट आउने कर सरकारको ढुकुटीमा आउँछ र देशको आर्थिक उन्नति हुन्छ ।

७ , मन्त्रि हुँदा दौरा सुरुवाल कोट टोपी टल्किने जुत्ता लगाएतको सामग्रीको पनि बिक्रि बढ्दा देशलाई आर्थिक टेवा पुग्छ ।

८ , हुलमुलमा मन्त्रि बनाउदा टोले गुन्डाका आफन्त ,डनका आफन्त पनि मन्त्रि हुने सम्भाबना हुने हुँदा तिनले अब मन्त्रालयमै अखडा जमाउन पुग्दछन र टोलमा हुने दादागिरी कम भई शान्ति सुरक्ष्यामा योगदान पुग्ने छ ।

९ , मन्त्रीमंडल ठुलो बनाउंदा बिपक्षी दलको मनोबल कमजोर भइ कुर्सीमा बेला बेला जाने भुइचालो मत्थर हुन्छ ।

कुरो नबुझी उफ्रिनेलाई पुग्नेगरी भन्दिएं नि हजुर । अन्तमा : अशोज ११ गते आरजु म्याडमलाई पनि लिएर हलमा आइसेला ,संगै बसेर छक्का पन्जा हेरौंला हजुर ।

—–केदार प्रसाद घिमिरे (माग्ने बुडो ) ।