जेठ, काठमाडौं ।

चलचित्र ‘कोशेली’ को प्रदर्शन मिति तय गरिएको छ । गत वर्षको पुस ७ मा प्रदर्शन मिति तोकिएर पनि बिबिध कारणले प्रदर्शनमा आउन नसकेको यस चलचित्र अब भने यहि जेठ ११ अर्थात आउँदो शुक्रबारबाट प्रदर्शन हुने भएको छ । प्रेम, द्वन्द्व, विछोड लगायतका विषय समेटिएको यस चलचित्रमा मनोज खत्रीको लेखन तथा निर्देशन छ ।

पछिल्लो समयको पुस्ताको माग अनुरुपकै चलचित्र निर्माण गरेको निर्देशक खत्रीको भनाई छ । उनले चलचित्रमा युवापुस्ताको प्रेमलाई उठाइएको बताए । ‘अहिलेको पुस्ताले मनपराउने समसामयिक कथालाई फिल्ममा प्रस्तुत गरेका छौं,’ उनले भने, ‘युवापुस्ताको प्रेमकथालाई प्राथमिकता दिइएकोले पनि फिल्मलाई दर्शकले मनपराउनेमा हामी ढुक्का छौं ।’

भोले बाबा फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा उमादेवी खत्री प्रस्तुतकर्ता छिन् । चलचित्रमा मनोज खत्री, दिनेश शर्मा, जेएन घिमिरे, रचना लामा, सुरज ढकाल, मञ्जिला बुढाथोकी, तेजा ऐर, उमा भट्टराई, तारा लामा र सन्तोष कार्कीको अभिनय छ ।

चलचित्रमा अभिषेक पौडेलको सम्पादन, सत्यम राना र सुदिप आचार्यको भीएफएक्स, कृष्ण कोइरालाको प्रोडक्सन, विकास चौधरीको संगीत, देव महर्जनको द्वन्द्व, दिनेश लिम्बुको कोरियोग्राफी र रवि कोइरालाको छायांकन छ । ‘कोशेली’ सँगै ऋचा शर्माको फिल्म ‘सुनकेशरी’ पनि प्रदर्शनमा आउँदैछ ।