पुस ११, काठमाडौं । कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई यतिखेर कुनै महोत्सव तथा साँस्कृतिक कार्यक्रमहरुमा भेटिदैन । बिभिन्न स्टेज कार्यक्रमहरु मा दर्शकहरुलाई हसाँउदै हिड्ने यो जोडि अहिलेलाई अहिले सडकमा झाडु लगाउँदै गरेको अवस्थामा भेट्न सकिन्छ ।
नेपाल सरकारका सरसफाइ दुत समेत रहेका धुर्मुस सुन्तलीले पुर्व पश्चिम राजमार्ग सरसफाई अभियान सुरु गरेका छन् । पुस ९ गतेबाट नवलपरासीको मध्यबिन्दुबाट यो अभियान शुरु भएको थियो । बिहिबार नवलपरासीको मध्यबिन्दु, कावासोती, प्रगतीनगर हुँदै गैडाकोटमा गएर सरसफाई अभियान सकिएको कलाकार सिताराम कट्टेलले बताए । साथै शुक्रबार दिनभर चितवनमा सरसफाईमा ब्यस्त रहे ।
शनिबार भने हेटौंडा पतलैया हुँदै निजगढी सम्म जाने कार्यक्रम रहेको धुर्मुसले बताए । साथै उनीहरुको सरसफाई कार्यक्रम आईतबार भने चन्द्रनिगापुर-काकडभिट्टा हुने धुर्मुसले आर्टिस्ट खबरलाई बताए । उनीहरुको पुर्व पश्चिम राजमार्ग सरसफाई अभियान पुसको १६ गते सम्म हुने बताए ।
उनीहरुलाई प्रमुख जिल्ला अधिकारी, नेपाल पुलिस, सशस्त्र पुलिस, स्थानीय र नगरपालिका कार्यकारी निर्देशकसहितले साथ दिइरहेका छन् ।
तस्बिरः कुञ्जना घिमिरेको फेसबुक बाट